
छबी पुरी ,
दाङ, जेठ २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सरकार पछिल्लो गतिविधिका कारण देश भयावह अवस्थामा पुग्न लागेको आरोप लगाएका छन । कम्युनिष्ट सरकारको पछिल्लो गतिविधिका कारण नेपाली जनता आजित हुन लागेको र त्यसको स्वर कांग्रेसले गरेको पहिलो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा मुखरित भएको टिप्पणी गरे ।
आज प्रेस यूनियन दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले अधिकांश समय सरकारको गतिविधि माथि खण्डन गरेका थिए । उनले सरकार सर्वसत्तावादी सोँचका साथ अघि बढेका कारण प्रेस स्वतन्त्रता, मानअधिकार, सुशासनलगायतका क्षेत्र कमजोर बन्दै गएको धारणा राखेका थिए । सरकारका हरेक कदम लोकतन्त्र र जनता विरोधी भएको उनको आरोप थियो । अहिले मुलुकमा लोकतन्त्रमाथि खतरा आएको भन्दै काग्रेस एकढिक्का भएर लोकतन्त्रको रक्षाका लागी अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
पूर्व सूचना तथा संचारमन्त्रीसमेत रहेका नेता बस्नेतले प्रेस लगायत अन्य मानवअधिकारसम्बन्धी बिधेयकलाई जवरजस्ती अघि बढाउन खोजेको भन्दै यसलाई समयमा नै नरोके कडा आन्दोलन गर्ने चेतावनी दिएका छन । राजनीतिक परिवर्तनले संस्थागत रुप लिइसकेकाले अव देशमा आर्थिक क्रान्ति गर्नु पर्ने बेला आएकाले अव सरकार सोही ढंगले अघि बढ्नु पर्ने बताए ।
प्रेस यूनियान दाङका अध्यक्ष सन्तोष सुबेदीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेता बस्नेतले नेपालमा लाखौं युवा स्वदेशमा रोजगारीको वाताबरण बन्न नसक्दा विदेशिन बाध्य भइरहेकाले त्यसलाई तत्काल रोक्नु पर्ने बताएका थिए।यस्तै उनले नेपाली कांग्रेसले अव एक ढिक्का र एक स्वरका साथ अघि बढ्नु पर्ने बेला आएको बताए । विगतमा पार्टी सभापति, शिर्ष नेताहरुबाट निर्वाचनमा टिकट वितरण गर्दा वा अरु कामका नाममा गम्भीर गल्ती भएको स्वीकार गर्दै उनले अव त्यही गल्ती दोहोर्याउने काम कोही कसैबाट गर्ने छुट नभएको तर्क गरे ।
उनले अहिलेको अवस्थामा कांग्रेस एक भएर जनताको माझमा जानुको बिकल्प नभएको बताए । कार्यक्रममा पत्रकारहरुले सरकार र कांग्रेसको आगामी कार्यदिशाका बारेमा जिज्ञासा राखेका थिए । प्रेस यूनियन उपाध्यक्ष देव यादवले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण कोषाध्यक्ष आरके शितलले गरेका थिए ।