२०८३ असार ७ गते आइतवार

हावाहुरीले कैलाली र कञ्चनपुरमा दुई जनाको मृत्यु


दाङ, जेठ २४। हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु भएको छ । गए रातिको हावाहुरीका कारण एक सयभन्दा बढी मानिस घाइते भएका छन् ।

कैलालीको गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा टिपरसँग से २१ प ५८२१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सोही ठाउँका वीरबहादुर चौधरीको मृत्यु भएको छ । त्यस्तै टिकापुर नगरपालिका–२ स्थित पोल्टीफार्म भत्किँदा त्यसमा च्यापिएर ४७ वर्षीय लहानु डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिए ।
हावाहुरीले उडाएका घरका जस्तापाताले लागेर, रुख तथा बिजुलीका खम्बाले लागेर कैलालीका विभिन्न स्थानमा ७६ जना घाइते भएका प्रहरीले बताएको छ ।

घाइतेमध्ये गोदावरी नगरपालिकाका जनक मल्ल, गौतम मल्ल, धनगढीका सरिता जोशी र सिक्नटा चौधरी गम्भीर घाइते छन्। घाइते जनक र गौतमको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने जोशी र चौधरीलाई थप उपचारका लागि भारत पठाइएको छ । यो बाहेक थप ७२ जना घाइतेको सेती अञ्चल अस्पतालका साथै निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेको उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली राति नै खटिएको थियो । उता कञ्चनपुरको बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा गरी हावाहुरीका कारण २३ जना घाइते भएका छन् ।

घाइतेमध्ये आठ जनाको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ । तीमध्ये एक जना सख्त घाइते छन् । अन्य १५ जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । क्षतिको पूर्ण विवरण आउन अझैं केही समय लाग्ने प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *