
शिवु खनाल,
देउखुरी, जेठ १९। लामो खडेरीका कारण मकंैको बोट सुक्न थालेपछि दाङको राजपुर क्षेत्रका किसान चिन्तित बनेका छन् । खडेरीका कारण फल दिने बेलामा मकैको बोट नै मर्म थालेको हुँदा किसान चिन्तित बनेका हुन । खडेरीले मकैको बोट सक्न थालेपछि राजपुर गाउँपालिकाका किसानको मेहनत खेर जाने संभावना बढेको छ ।
राजपुर गाउँपालिका वडा नम्बर वडा नम्बर २ तुलसिराम भण्डारीले लामो समयदेखि पानी नपरेका कारण मकैको बोट सुक्न थालेपछि लगाएको मकै फाँडेर पशुचौपायालाई दिन थालेको जानकारी दिए । प्रायजसो आँकाशे खेतीको भरमा जीवन गुजारा चलाउँदै आएका राजपुर गाउँपालिकाका किसान यसपालि लामो समयसम्म पानी नपरेपछि दुःख त्यसै खेर जाने चिन्तामा छन् ।
भण्डारीले त्यसवाट किसानले ठूलो नोक्सानी बेहोर्नु पर्ने अवस्था आएको बताए । ‘अब कसरी जीविकोपार्जन गर्ने, खडेरीले सुकेका मकैका बोट फाँडेर बारी खाली गराउनुको विकल्प अब देखिदैन,’ भण्डारीले भने । यो सिजनको मेहनत खेर गएको बताएका उनले अब जहिले पानी पर्छ त्यसपछि मात्रै धानको बीउ राख्ने मनस्थितिमा किसान बसेको बताए ।
लमही नगरपालिका वडा नम्बर ८ का किसान भागिराम चौधरीलेपनि करीब डेढ महिनादेखि पानी नपरेको हुँदा लगाएको मकैको बोट सुकेर खेर जान थालेको जानकारी दिएका छन् । चौधरीले दाना लाग्ने समयमा धेरै पानीको खाँचा रहने भएपनि लामो खडेरीले गर्दा सबै मेहनत खेर जाने अवस्थामा पुगेको जानकारी दिए । ‘दुःख गरेर लगाएको बाली टिप्न नपाउने अवस्था उत्पन्न हुन थाल्यो । मल र विउ किनेको पैंशा पनि डुब्ने भयो,’ चौधरीले भने ।