काठमाडौं, चैत २ । सुन तस्करी प्रकरण जाँचबुझ गर्न गठित आयोगले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित केही प्रहरी उच्च अधिकारीविरूद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।
इलेक्ट्रोनिक चुरोट (भेप) मा राखेर सुन तस्करी गरेको प्रकरणमा महरालाई दोषी ठहर गर्दै आयोगले मुद्दा चलाउन सिफारिस गरेको हो ।
आयोगले महराका साथै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डिएसपी दुर्गा दाहाल, रूगम कुँवर, अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीका बिरुद्धपनि मुद्दा चलाउन सिफारिस गरेको छ ।
महरा तस्करमा संलग्न रहेको तथा अन्य प्रहरी अधिकारीहरु तस्करी सम्बन्धि मुद्दाको अनुसन्धान फितलो बनाउन भूमिका खेलेका, अभियुक्तलाई भगाउन भूमिका खेलेको हुँदा आयोगले मुद्दा चलाउन सिफारिस गरेको छ ।
गृह मन्त्री रवि लामिछानेले शुक्रबार बिहान गृहसचिव, आइजिपीसहितका अधिकारीहरू संग त्यसबारेमा छलफल गरेका छन् । त्यो प्रतिवेदन गृहमन्त्री लामिछानेले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएका थिए।
