२०८३ बैशाख १५ गते मङ्गलवार

कोसीका मुख्यमन्त्री उद्धव थापाविरुद्ध एमाले फेरि सर्वोच्च जाँदै

काठमाडौँ,भदौ ६ । कोसी प्रदेश का मुख्यमन्त्री उद्धव थापाविरुद्ध नेकपा एमाले फेरि सर्वोच्च अदालत जाने भएको छ।

मुख्यमन्त्री थापाले संविधान र कानुनविपरीत सभाध्यक्षको भोटले प्रदेशसभामा सोमबार विश्वासको मत लिएको विरोधमा प्रमुख प्रतिपक्षी एमालेले बुधबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको हो।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतको विरोधमा मुद्दा दर्ता गराउन लागेका हुन्।

तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरले बहुमत पुर्‍याएर असार २१ गते कांग्रेस नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेको विरोधमा एमाले नेता हिक्मतकुमार कार्कीले असार २२ गते दायर रिटमाथि सर्वोच्चको पूर्ण इजलासले सभामुख गौतमको हस्ताक्षर असंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीको नियुक्ति रद्द गरेको थियो।

सभामुख वा सभाध्यक्षलाई निष्पक्ष र तटस्थ राख्ने अभिप्रायले नै संविधानको धारा १८६ मा अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने तर मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिने व्यवस्था गरिएको पूर्ण इजलासले समेत व्याख्या गरिसकेकाले मुख्यमन्त्री थापा नेतृत्वको सरकार खारेज हुनेमा एमाले विश्वस्त देखिएको हो ।

उपसभामुख सिर्जना दनुवारले आफू बिरामी भएको र उपचारका लागि बाहिर जानुपर्ने भएको भन्दै अध्यक्ष मण्डलका सदस्य कांग्रेसका इस्राइल मन्सुरीलाई प्रदेशसभा बैठकको अध्यक्षता गर्न भनेकी थिइन्।

सोही आधारमा मन्सुरीले मुख्यमन्त्री थापाले विश्वासको मत लिने सभामा अध्यक्षता गरेका थिए। प्रदेशसभाको अध्यक्षता गरेका मन्सुरीले कानुनविरुद्ध थापालाई मत दिएको भन्दै एमाले सर्वोच्च जान लागेको हो।

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *