एजेन्सी । भारतमा बाघको सङ्ख्या बढेर तीन हजारभन्दा धेरै पुगेको छ ।
पछिल्लो गणना अनुसार भारतमा बाघको सङ्ख्या तीन हजार १६७ वटा पुगेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ ९ आई.यू.सी.एन.० लाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
चार वर्षअघि भारतमा बाघको सङ्ख्या दुई हजार ९६७ थियो ।
सन् १९४७ मा बेलायतबाट स्वतन्त्र हुँदा भारतमा बाघको सङ्ख्या झण्डै ४० हजार रहेको अनुमान गरिएको छ । त्यसपछिका दशकहरूमा घटेर सन् २००६ मा एक हजार ४११ मा झरेको थियो ।
सन् २०१० मा भारतसहित बाघको सङ्ख्या भएका अरु १२ देशले सन् २०२२ सम्ममा पाटे बाघको सङ्ख्या दोब्बर बनाउने सम्झौतामा हस्ताक्षर गरेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाघको नयाँ सङ्ख्यालाई गर्वको क्षण भन्नुभएको छ । भारतमा बढेको बाघको सङ्ख्या विश्वकै लागि गर्वको विषय भन्दै उहाँले नागरिकको सहभागिता र देशको संरक्षणको संस्कृतिका कारण भारतले बाघको सङ्ख्या बढाउन सफल भएको बताएको एएफपीले जनाएको छ ।
अहिले विश्वमा रहेको बाघको सङ्ख्याको ७५ प्रतिशत हिस्सा भारतमै रहेको र भारत विश्वकै सबैभन्दा ठूलो बाघ रेञ्ज भएको देश रहेको उनले बताए ।
अहिले विश्वमा झण्डै चार हजार पाँच सय वटा बाघ रहेको विश्व वन्यजन्तु कोष ९डब्ल्यूडब्ल्यूएफ०ले जनाएको छ ।
सन् १९०० मा संसारमा एक लाखभन्दा धेरै बाघ रहेकामा सन् २०१० मा बाघको सङ्ख्या तीन हजार २०० मा झरेको थियो।
आईयूसीएनका अनुसार बितेको सय वर्षमा बाघले आफ्नो ऐतिहासिक दायराको ९३ प्रतिशतभन्दा बढी हिस्सा गुमाइसकेको छ । अहिले १३ देशमा मात्र बाघको अस्तित्व जोगिएको छ।