दाङ, पुस १४ । राजपुर गाउँपालिका–५ सालभौरी निवासी ३२ वर्षीया हिरा कुमाललाई आजकल च्याउ बेच्न भ्याइ नभ्याइ छ ।
घर व्यवहार र परिवार व्यवस्थापनको चापका बीच उनले च्याउ बेचेर राम्रो आम्दानी गर्दै आएकी छन् ।
घरमा काम गरेर बचेको फुर्सदको समयमा गरेको च्याउ खेतीबाट उत्पादन भएको च्याउ बेचेर हुने आम्दानीले उनको घर गृहस्थी चलेको छ ।
घरको काम सकेर बचेको फुर्सदको समयलाई सदुपयोग गरेर हिरा समूहमा च्याउ खेती गर्ने काम गर्दै आएकी उनको जीवन त्यसरी नै सहज बन्दै गएको छ ।
श्रीमान वैदेशिक रोजगारीमा छन । एक छोरा एक छोरीको पठनपाठन र परिवारको व्यवस्थापन हिराको मेहनतमा भइ रहेको छ ।
फुर्सदको समयलाई आफु जस्तै गाउँका महिलाहरु मिलेर गरेको च्याउँ खेतीमा लगाउँदै आएकी उनले उद्यमशितामा जोडिएपछि आम्दानीको स्रोत बढेको बताउछिन ।
स्थानीय मनिसा चौधरीपनि च्याउको बिउ पोका बनाएर राख्नेदेखि उत्पादित च्याउ बिक्री गर्ने गर्छिन ।
विक्रिका लागि गाउँ–गाउँ पुग्छिन । नमूना च्याउ उत्पादन समुहका अध्यक्ष समेत रहेकी मनिसाले घरको काम गरेर बचेको फुर्सदलाई व्यवस्थापन गरेर राम्रो आम्दानी गरिरहेको बताइन ।
अध्यक्ष मनिसाका अनुसार यो सिजनमा उनले २६ हजार आठ सयको च्याउ बिक्रि गरि सकेको बताइन ।
हिरा र मनिसा जस्तै सालभौरीका सात जना महिलाले बचेको समयमा सामूहिक उद्यममा लागेर आयआर्जन गरिरहेका छन ।
सालभौरी निवासी मनिषा चौधरी, हिरा कुमाल, इन्द्रादेवी सुनार, अनिता चौधरी, रेणुका विश्वकर्मा, राजकुमारी चौधरी र ममता चौधरीले गाउँमै नमूना च्याउ खेती उत्पादन समूह स्थापना गरेर विगत दुई बर्षदेखि आयआर्जन गरि रहेका छन् ।
सात जनाको समूहले दुई ठूला र दुई साना गरी चारवटा च्याउका टनेल निर्माण गरेर उनीहरुले च्याउ उत्पादन गर्दै आइरहेका छन् ।
वार्षिक पाँच हजार रुपैया दिएर तीन वर्षका लागि पाँच कट्ठा जमिन भाडामा लिएका छन् ।
गत वर्ष दुई सय ७० किलो च्याउ बिक्री गरेका उनीहरुले यो सिजनमा तीन सय किलो च्याउ बिक्री गर्ने लक्ष्य लिएका छन् ।
उनीहरुले च्याउ उत्पादनका लागि आवश्यक बिउ, पराल र प्लाष्टिक किन्ने खर्चबाहेक बचेको रकम समूहमै बचत गर्ने र आवश्यकता अनुसार चलाउने गर्छन ।
महिलाहरुलाई उद्यममा जोडिन मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले च्याउ खेतीको तालिम, उत्पादनका लागि चारवटा टहरा निर्माण, पराल पकाउने एउटा ड्रम, पराल काट्ने मेसिनलगायतको सहयोग गरेको छ ।
यो सहयोगबाट उनीहरु उद्यमी बन्न थालेका छन् ।
