
दाङ, मंसिर २३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी मुख्यमन्त्री दाङको राप्ती गाउँपालिकास्थित आफ्नो निवासमा सरेका छन् ।
उनी बिहान ९ बजेतिर निवास प्रबेश गरेका हुन ।
निवास प्रबेश गर्दा उनले शुभ साइत हेराएका थिए । उनले निवासमा सर्दा पुरेत बोलाइ बिधि पूर्वक पूजासमेत गरेका थिए ।
समाचार संकलनमा पुगेका पत्रकारलाई भने प्रबेशमा रोक लगाइएको थियो । अघिल्लो दिन नै मुख्यमन्त्री निवास प्रबेशको कार्यक्रम रहेको भन्दै उनको सचिवालयले पत्रकारलाई बोलाएका थिए ।
तर, त्यहाँ पुगेका पत्रकारलाई मुख्यमन्त्री आँफैले प्रबेशमा रोक लगाएका थिए । ‘तपाईंहरुलाई यहाँ कसले बोलायो,’ उनले भनेका थिए ‘ तपाँईहरुको आज यहाँ कुनै काम छैन गइहाल्नुहोस।’
मुख्य मन्त्री स्थायी राजधनीको निवासमा प्रबेश गर्न खोज्दा उपस्थित पत्रकारले फोटो र भिडियो बनाउन खोजेपछि सचिवालयका मानिसहरु आएर क्यामेरा बन्द गर्न लगाएका थिए ।
त्यसपछि आँफुहरु फर्किएको पत्रकार दशरथ घिमिरेले जानकारी दिए । साविक राप्ती प्राविधिक शिक्षालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निवास तयार पारिएको छ।
तर, मुख्य मन्त्री केसीका प्रेस सल्लाहकार मानसिंह बिश्वकर्माले भने आन्तरिक कार्यक्रम भएको हुँदा पत्रकारको आवश्यकता नपरेको बताए ।
पुरेत बोलाएर पूजा गरेको सवालमा राप्ती गाउँपालिकाले त्यो सबै ब्यबस्थापन गरेको हुँदा केही नगरि प्रबेश गर्ने वा अबलोकन गर्ने भनेपनि गर्नु परेको उनले प्रतिक्रिया दिए ।
२०७७ साल असोज २० मा प्रदेश सभाको दुई तिहाइ बहुमतले राजधानीको टुंगो लगाएको थियो।
उक्त निर्णय भएको ठिक दुई बर्ष दुई महिनापछि मुख्यमन्त्री कार्यालय दाङको देउखुरीमा सारिएको थियो ।