सल्यान,साउन १५ । सल्यान कालिमाटी गाउँपालिकाको एक विद्यालयमा कार्यालय सहयोगी राख्ने भन्ने विषयमा विवाद भएको छ ।
कालिमाटी गाउँपालिका वडा नम्बर १ डाँडाशिरखोलामा रहेको कालिका प्राविमा कार्यालय सहयोगी राख्ने विषयमा वडा तथा विद्यालयका प्रतिनिधि र गाउँपालिका शिक्षा शाखाका प्रतिनिधिबीच विवाद भएको हो ।
खुल्ला परिक्षामार्फत शिक्षा शाखाले कार्यालय सहयोगीमा एकजनाको नाम निकालेपछि वडा अध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले त्यसलाइ अस्वीकार गर्दै परिक्षा स्थलबाट बाहिरिएका छन् ।
कार्यालय सहयोगीका लागि ४ जनाले आवेदन दिएका थिए । शुक्रबार गाउँपालिका शिक्षा शाखाले बनाएको परिक्षामा एक जनाको नाम निस्किएको हो ।
त्यसपछि वडा अध्यक्ष र विव्यस अध्यक्ष परिक्षा निष्पक्ष नभएको भन्दै बहिस्कार गरेर निस्किएका हुन् ।
‘हामीले परिक्षा मर्यादित र निक्षपक्ष बनाएका हौं । चारजना मध्ये एकजनाको मात्रै नाम निस्कियो ।’,शिक्षा शाखा प्रमुख भरत चन्दले भने, ‘उहाँहरुले बनाउन चाहेको मान्छे अर्कै हुनुहुँदो रहेछ । उहाँले बनाउन चाहेको मान्छेको नाम न निस्किएपछि उहाँहरु परिक्षा रद्द गर्नुपर्छ भन्दै बाहिरिनुभयो ।’
आफुले कानुन र शिक्षा ऐनमा टेकेर परिक्षा बनाएको बताउँदै शिक्षा शाखा प्रमुख चन्दले अर्को परिक्षा नहुँने र यसैलाइ नै प्रकृयागत रुपमा अगाडी बढाउने बताए ।
उनले भने,’स्थानीय तहमा जनप्रतिनिधिको दादागिरी अति भयो । उहाँहरु आफुलाइ भोट हालेको मान्छे भएपछि ठिक हुने नत्र बेठिक हुने मनस्थितिमा हुनुहुन्छ ।’
यता वडाध्यक्ष रविलाल बस्नेतले भने शिक्षा शाखाले निष्पक्ष रुपमा परिक्षा नबनाएकोले आफुहरु बाहिरिएको बताए ।
बस्नेतले भने, ‘उहाँहरुले परिक्षा बनाउनुपुर्व नै पेपर आउट गर्नु भएको रहेछ । परिक्षा स्वछ र निष्पक्ष नभएपछि हामीले परिक्ष रद्द गर्नुपर्छ भन्दै बाहिरिएका हौं ।’
५० पुर्णाङ्कको उक्त परिक्षामा पास भएकी महिलाको ३९ ल्याएको र अरु सबैले ७ देखि कम ल्याएकोले पहिले नै प्रश्न पेपर आउट भएको वडाध्यक्ष बस्नेतको भनाइ छ ।
यो परिक्षा रद्द हुने र अर्को परिक्षा पुनः हुने उनले बताए ।
