
तुलसीपुर, फागुन ७ । शनिवार विहान तुलसीपुरको उपमहानगरपालिकाको सभाहलमा आयोजित एउटा कार्यक्रम तोकिएको समयभन्दा करिव डेढ घण्टा पछि मात्र सुरु भयो ।
यही विषयमा कार्यक्रमका एकजना सहभागि तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का जागेश्वर भण्डारीले आक्रोश पोखे ।
‘कृपया किसानको पनि समय हुन्छ भनेर बुझिदिनुहोला,’ उनले भनेका थिए ‘ तपाँईहरुलाई जस्तो हामीलाई कुरिरहने फुर्सद वा समय हुँदैन ।’
हुनपनि किसानको भैसी दुहुने समय हुन्छ । मकै रोप्ने समय हुन्छ । तोरी रोप्ने समय हुन्छ । रसायनिक मल खरिद गर्ने पनि समय हुन्छ । त्यस्तै आशय पोख्दै भण्डारीले भनेका थिए ‘अहिले तपाइहरुले हाम्रो समय यसरी वर्वाद पार्दै जाने हो भने किसानको कसरी प्रगति हुन्छ ?’
भण्डारीको कुरा सुनेर मेयर घनश्याम पाण्डेले पुलुक्क घडी तर्फ हेरे । त्यो रोकिएको देखेर आफ्नै हातको घडी हेरे । आज उपमहानगरपालिकाको सभाहलको भित्ते घडी ठप्प छ । कहिलेदेखि चल्न छाड्यो ? कुन विभागले हेर्छ घडी नचलेको ? अर्थात घडी मर्मत विभागको जिम्मेवारी कसले पाएको होला ? यीनै प्रश्न मनमा खेलिरहे ।
सायद त्यो घडीले पुरा एक दिनमा जम्मा २ पटकमात्रै सही समय दिने छ । कार्यक्रममा किसानले समयको महत्व सुझाइरहंदा घडी ठप्प थियो । त्यसैले अचेल हरेक कार्यक्रममा जनप्रतिनिधिहरुबाटै समयको कुनै ख्याल हुंदैन । मानव अधिकार तथा शान्ति समाजको कार्यक्रम वाहेक कुनैपनि कार्यक्रम समयमा चल्न छाडेका छन् ।
गत माघ महिनाभर म खुवै कार्यक्रममा सहभागी बनें । नगरप्रमुख घनश्याम पाण्डे प्रमुख अतिथि भएका यस्ता सवै कार्यक्रमहरु कम्तिमा पनि एक घण्टा डिले भैरहेका छन् । तुलसीपुर खानेपानीमा चुनढुंगा उत्खनन्को अन्तरक्रिया होस वा वेलझुण्डी खानेपानीको रिजर्भायर ट्याङ्की उद्घाटनमा नगरप्रमुख पाण्डे निर्धारित समयभन्दा करिव डेढ घण्टा ढिलो पुगेका थिए ।
तुलसीपुरको टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि तुलसीपुर उद्योग वाणिज्यसंघले आयोजना गरेको सर्वपक्षिय अन्तरक्रिया कार्यक्रममा पनि नगरप्रमुखको उपस्थिति त्यस्तै ढिला नै रहेको थियो । आयोजकले नै प्रमुख अतिथिलाई ढिला बोलाइ दिन्छन् कि ? प्रमुख अतिथिको नै ढिलो उपस्थिति हुन्छ ? यो सोचनिय बिषय बनेको छ ।
व्याट्री सकिएर हो वा पाटपूर्जा विग्रिएर हो ? घडी रुकेको ? जानकारी कस्ले दिने ? त्यो घडी कहिले विग्रिएको हो ? त्यो पनि थाहा कसैलाई छेन सायद ।
तर, तुलसीपुर रोकिएको धेरै भएको छैन । करिव एक÷दुइ बर्षको अन्तरालमा यसपाली तुलसीपुर पुरै ठप्प भएको छ । घडी चलाउन व्याट्री जस्तै तुलसीपुर चलाउने पैंसाले हो ।
तर, यो आर्थिक बर्षमै तुलसीपुर नगर कम्तिमा ७१ करोडको ऋणमा चुर्लुम्म डुवेको छ । उधारोमा काम हुंदै गए, ऋण अझै थपिने छ । त्यसैले उधारोको भार बोक्न भन्दा बरु नचल्ने अभ्यास गर्दैछ तुलसीपुर यो आर्थिक बर्षका लागि ।
घडी रोकिए जस्तै ठेकेदारहरु भुक्तानीका लागि रोकिनु परेको छ । वडाहरुले भुक्तानी हुने आधार नभएकाले योजनाका काम रोक्नुपरेको छ ।
हैरानीमा छन् लेखाका कर्मचारीहरु । भुक्तानीका लागि चेक काट्न रोकिएको छ । भुक्तानीका लागि टिप्पणि उठाउने अधिकारीको कलम रोकिएको छ । भुक्तानी दिनु भनी सिफारीस गर्ने नगर प्रमुखको आदेश रोकिएको छ । नगर सभाहलको घडी जस्तै ।
‘हामीले चालु आर्थिक बर्षका लागि विकाशे योजनाकै काम रोकेका छौं । किनकि भुक्तानीको आधार भनेकै आन्तरीक श्रोत हो । तर त्यसले सवै वडाका विकाशे योजनाका भुक्तानी हुने छैनन्’, तुलसीपुर १७ का वडा सदस्य मदन बस्नेतले भने ।
१८ का वडा सदस्य पनि योजनाको भुक्तानीको काम रोकिएको स्वीकार्दै यो बर्षका योजनाको भुक्तानीमा निकै ढिला भएको स्वीकार गरे । ‘मलाइ लाग्छ, यो बर्ष विकाशे योजना भुक्तानीमा सहज छैन । त्यसैले विचार पु¥याएर मात्रै योजनामा हात हाल्ने तयारीमा छौं,’ वडा सदस्य बस्नेतले भने ।
यत्तिमात्रै हैन, तुलसीपुरमा खेलकुद क्षेत्रको बजेट रोकिएको छ । स्वरोजगार तालिम र लैंगिक सचेतनाका वडास्तरिय अभियान रोकिएका छन् ।
ज्येष्ठ नागरीकलाई यो बर्ष न्यानो कपडा पनि बांडिएन । रोकिएको छ, ज्येष्ठ नागरिकलाइ घरमै निशुल्क औषधि पु¥याउने अभियान । बसपार्कको ठेक्का रोकिएको छ । नदीजन्य पदार्थको उत्खनन् रोकिएको छ । सभाहलको घडी रोकिए जस्तै । प्रदेश सरकारले निर्धारण गरेको नदी जन्य पदार्थको राजश्व बढाएकाले ठेकेदारहरुले ठेक्का आवेदन रोकेका छन् ।
२८ स्थानमा ठेक्का आह्वान गर्दा ६ स्थानमा मात्रै ठेक्का पर्यो । ठेक्का पाएका व्यावसायीले विज्ञापन कर उठाउन रोकेका छन् । विज्ञापन कर महंगो भयो भन्ने व्यापारीको गुनासो छ ।
नगरपालिकाका कर्मचारीहरुबाट फोहर व्यवस्थापन कर उठाउन रोकिएको छ । कसरी उठ्ला बार्षिक ६० करोड आन्तरिक राजश्व ? निकासी कर उठाउनका लागि तुलसीपुरमा केही पनि छैन । वाहिर निकसी गर्ने त्यसैले त्यो कर उठ्ने त कुरै भएन ।
यस अघि कहिल्यै भएन तुलसीपुरलाई अघिल्लो आर्थिक बर्षको ऋण बोक्ने अवस्था । कार्यकालको अन्तमै थोपरिएको ऋणको पुस्ता हस्तान्तरण जस्तै हुने छ । आउने स्थानीय सरकारले पहिलो आर्थिक बर्ष त सायद अघिल्लो सरकारले बोकाएको ऋण तिनै ठिक्क हुने छ ।
केही नेताहरुले भनिरहेका छन्, ‘चुनाव जितेर पनि निकै चुनौति छ । रोकिएको तुलसीपुरलाई फेरि चलायमान बनाउन सजिलो छैन ।’
घडी त दश रुप्पेको व्याट्री फेरे चल्न थाल्ला । तर तुलसीपुर कसरी चलाउने ? यो प्रतिकारात्मक रुपमा जटिल प्रश्न हो।
