काठमाण्डौ,पुस २७ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्वमाओवादी घटकहरूसँग एकताको सम्भावना नरहेको बताएका छन ।
मंगलबार क्रान्तिकारी पत्रकार महासङ्घले काठमाण्डौमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्वमाओवादी घटकहरू बीचमा एकताको सम्भावना नरहेको बताएका हुन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुन्छ भनेर लगातार भनिरहेको भए पनि त्यो पार्टीसँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारे ।
आफूहरूले वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने र माओवादी केन्द्र संसदीय व्यवस्थाको संरक्षकको रूपमा अघि बढेकाले एकताको सम्भावना नरहेको उनको तर्क थियो ।
उनले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताए ।
ती पार्टीसँग पनि राजनीतिक लाइन नमिलेको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै महासचिव वैद्यले एमसीसी परियोजना राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने बताए । त्यसैगरी लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जटिल भइरहेको भए पनि वर्तमान सरकार केपी शर्मा ओली नेतृत्वको सरकार जति पनि बोल्न नसकेको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यस क्षेत्रमा बाटो विस्तारको काम चलिरहेको छ भनिराखेको भए पनि नेपाल सरकार भने चुप लागेर बसेको उनले बताए ।
उनले आउँदो संसदीय चुनावमा आवश्यकताअनुसार पार्टीको केन्द्रीय कमिटीको निर्णयमा उपयोग अथवा वहिष्कारको नीति लिइने उल्लेख समृेत गरे ।
