माओवादी केन्द्रको आठौं महाधिवेशन
काठमाण्डौ,पुस १३ । नेकपा (माओवादी केन्द्र) को जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिबीच सामूहिक छलफल सुरु भएको छ। छलफल गर्न २५ समूह बनाइएको छ।
प्रतिवेदन छुट्टाछुट्टै २५ समूह विभाजन गरी मंगलबारबाट छलफल सुरु भएको हो। समूहगत छलफलपछि प्रतिवेदन पेश गर्न टोली नेतासहित विभिन्न स्थान तोकिएको हो।
जेष्ठ कम्युनिस्ट मञ्चको संयोजकमा एमके प्रसाईंलाई तोकिएको छ। सल्लाहकारको दुई समूह बनाइएको छ। जसको नेतृत्व नन्दकुमार थापाले गर्दैछन्।
माओवादी केन्द्रका अनुसार प्रदेश १ को दुई समूहबाट हर्क गुरुङ, प्रदेश २ को दुई वटा समूहबाट गणेश साह, बागमती प्रदेशको दुई समूहबाट सरल सहयात्री, लुम्बिनी प्रदेशको दुई समूहबाट चक्रपाणि खनाल, गण्डकी प्रदेश दुई समूहबाट गायत्री गुरुङ, कर्णाली प्रदेशको दुई समूहबाट विमला केसी र सुदूरपश्चिम प्रदेशको दुई समूहबाट खगराज भट्टले नेतृत्व गर्नेछन्।
यसैगरी केन्द्रीय विभागको दुई समूहबाट मायाप्रसाद शर्मा, प्रवास समितिबाट लक्ष्मण पन्त, सम्पर्क समन्वय प्रदेशको दुई समूहबाट कृष्ण अधिकारी, जनवर्गिय मोर्चाबाट अमृता थापाले नेतृत्व गर्ने माओवादी केन्द्रले जनाएको छ।
विशेष प्रदेशको नेतृत्व जगत सिंखडा, सम्पूर्ण आयोगहरूको नेतृत्व विष्णुविकास श्रेष्ठले गर्नेछन्। महाधिवेशन ५ दिनसम्म चल्नेछ।