२०८३ बैशाख १६ गते बुधवार

एक सभापति, एक सह-महामन्त्रीसहित ५२ केन्द्रीय सदस्यले लिए उम्मेदवारी फिर्ता


काठमाडौ ,मङ्सिर २६ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापतिमा मनोनयन दर्ता गराएका युवराज न्यौपानेले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

त्यस्तै सह-महामन्त्रीमा मनोनयन दर्ता गराएका सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मध्याह्न १२:३० बजेसम्म निर्धारण गरिएको थियो।

अहिलेसम्म सभापतिमा एक र सह-महामन्त्रीमा एकसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५२ जनाले आफ्ना नाम फिर्ता लिइसकेका छन् भने अझै केहीको नाम फिर्ता हुनसक्ने बताइएको छ।

महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको थियो भने ४९९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए।

नाम फिर्ता लिने क्रम समाप्त भएपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुने निर्वाचन कार्यक्रम छ।

यसअघि शनिबार उम्मेदवार मनोनयन दर्ता बिहान १० देखि साँझ ५ बजेसम्म भएको थियो।

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म गरी समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म प्रकाशन गरेको थियो।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *