दाङ, मंसिर ११ । नेपाली कांग्रेस बाँके संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित भएका छन । उनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव पनि हुन ।
शुक्रबार बेलुका सार्वजनिक मत परिनाम अनुसार केसीले माधवराम खत्रीलाई ४७ मतान्तरले पराजित गरेका हुन । संस्थापन इतरका केसीले ३१६ र माधवराम खत्रीले २६९ मत प्राप्त गरेका थिए । यहाँ कुल ६०१ जनाले मतदान गरेका थिए ।
सचिवमा केसी प्यानलबाट खुमबहादुर बस्नेत र खत्री प्यानलबाट जयश्वर पौडेल बिजयी भए । त्यस्तै सहसचिव पदमा खत्री प्यानलबाट दिपेन्द्र उप्रेती र केसी प्यानलबाट रामबहादुर रावत निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर ३ मा भने निर्विरोध रुपमा नेतृत्व चयन भएको थियो ।
क्षेत्र नम्बर ३ को सभापतिमा संस्थापन पक्षधर नक्की खाँ निर्विरोध निर्वाचित भएको मतदान अधिकृत विरेन्द्र यादवले जानकारी दिएका छन् । यहाँ अन्य पदहरुमा भने मतदान भएको थियो ।
बाँकेको निर्वाचन क्षेत्र नं. २ मा शनिबार मतगणना जारी छ ।
प्रारम्भिक मतगणनामा सभापतिमा रमेशकुमार गुप्ताले १०० मत गणना हुँदा ६४ र विरेन्द्र शाहले ३५ मत प्राप्त गरेका छन् । यहाँ कुल ४५१ मत मध्ये ४४० मत खसेको थियो । गुप्ता संस्थापन पक्षधर र शाह संस्थापन इतरका हुन ।
