
तुलसीपुर, कात्तिक २३ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) मा प्रदेश सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका टीकाराम घर्तीले आफु कुनै लाईनको नभइ काँग्रेसको मात्रै उम्मेदवार भएको बताएका छन् ।
मंगलबार फरककोणसंग कुरागर्दै नेपाल तरुण दल दाङका अध्यक्ष समेत रहेका घर्तीले आँफुले पार्टी भित्र लाईन र गुट अन्त्य गर्नुपर्छ भनेर लड्दै आएको हुँदा आफू कुनै लाईनबाट नभई पार्टीको मात्रै उम्मेदवार भएको दाबी गरे ।
तपाँर्ई पार्टी भित्र पूर्व माननीय तथा पूर्व जिल्ला सभापति गेहेन्द्र गिरीको प्यानलको उम्मेदवार बनाइएको चर्चा छ नि ? भन्ने सोध्दा नेता घर्तीले त्यो कुरा स्वीकार्न तयार भएनन् । ‘लाईनको कुरै नगरौं,’ नेता घर्तीले अगाडि भने ‘ म कसैको लाईनको होइन,म नेपाली काँग्रेसको मात्रै उम्मेदवार हुँ।’
काँग्रेसमा दाङ लगाएतका अधिकाँस जिल्लामा मंसिर ३ गते पार्टीले प्रदेश अधिबेशन तोकेको छ ।
जसका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीको प्यानलबाट ५० बर्षीय प्रदेश सभापति खिमबहादुर वली पुनः स्वही पदमा उम्मेदवारी दिएर चुनाबी प्रचार प्रशारमा होमी सकेका छन् । वलीकै काउन्टरमा नेता गेहेन्द्र गिरीको प्यानलबाट घर्ती उम्मेदवार बनाइएको चर्चा सर्वत्र भएपनि उनले त्यो अस्विकार गरे ।
दाङको निर्वाचन क्षेत्र नं. ३ पार्टी भित्र जिल्लामै दुई लाइनको प्रतिनिधित्व गर्ने नेताहरुको क्षेत्र भएको हुँदा यहाँको हरेक आन्तरिक चुनावले पार्टी भित्र एक किसिमको तरंग पैदा गर्दै आएको छ । त्यसैले सबैले पार्टी भित्रकै भएपनि यहाँको निर्वाचनलाई निकै चासोको साथ लिने गर्छन ।
एउटा प्यानलबाट निर्वाचन क्षेत्र नम्बर ३ (ख) का प्रदेश सभापति खिमबहादुर वलीले फेरि सोही पदमा उम्मेदवारी घोषणा गरे लगतै एकाध बर्षले कम उमेरका तरुण दलका जिल्ला अध्यक्ष टीकाराम घर्तीले पनि आफ्नो प्रचार प्रशारलाई तीर्बता दिदै आएका छन् । यो बीचमा आफ्नो क्षेत्रका मतदाताको घर आँगनमा पुगेर नेता घर्तीले किसानसंगै धान काट्दै गरेका र खल्यानमा पुगेर धान झाँट्दै गरेका तस्बिरहरु पनि आँफै सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गर्नु त्यही कुराको पुष्टि हो । ‘मैले आफ्नो उम्मेदवारी पेश गर्ने सिलशिलामा किसानका खेतबारीमा पुगेको हुँ,’ घर्तीले भने ‘ म जहिलै कार्यकर्ता र मतदाताको सुखदुखमा संगै हुन्छ।’ अहिले सम्म आफुले प्रचार प्रशार नगरेको तर मंगलबारदेखि प्रचार प्रशारलाई तीब्रता दिने घर्तीले बताए ।
भोट आफ्नो लागि मात्रै माग्नु हुन्छ कि, टिमका लागि पनि ? भन्ने प्रश्न गर्दा नेता घर्तीले आँफुले सबैका लागि भोट माग्ने गरेको प्रतिक्रिया दिए ।
‘मैले त खिमबहादुर दाईलाई समेत आउनुस संगै हिडौं, संगै भोट माग्न जाउँ भनेर प्रस्तावनै गरेको छु,’ घर्तीले भने ‘ हामी पार्टीको आन्तरिक अधिबेशनमा छौं, आम निर्वाचनमा छैनौं ।’ मतदाताले जस्लाई रुचाउँछन् उसैले चुनाव जित्ने हुँदा निर्वाचन अतेन्तै मर्यादित र लोकतान्त्रिक बिधिबाट हुनुपर्छ भन्ने मान्नेता आफ्नो रहेको नेता घर्तीको भनाई छ ।
‘मैले धेरै पटक खिमबहादुर दाइलाई सहयोग गरेको छु,’ घर्तीले थपे ‘आशा छ यस पटक खिमबहादुर दाइले मलाई सहयोग गर्नु हुने छ।’ घर्तीकै तर्कमा खिमबहादुरजीले फेरि सोही पदमा दोहरीनु भन्दा आफ्ना लागि मार्ग प्रसस्त गरिदिनु राम्रो हुने छ ।
तपाँई खिमबहादुरजी मैदानमा उत्रिएपछि डराएको हो ? भनेर सोध्दा- नेता घर्तीले आफुलाई डर भन्ने के हो ? भनेर थाहाँ नभएको जबाफ दिए । तपाँईले आफ्नो सामाजिक सञ्जालमा बाघ आफ्नै एरियामा बस्छ र अरुलाई पनि त्यहाँ आउन दिदैन भन्ने आशय ब्यक्त गर्नु भएको छ, त्यसको अर्थ के हो ? भनेर सोध्दा- नेता घर्तीले – एउटा निर्वाचन क्षेत्रको मान्छे अर्कौ निर्वाचन क्षेत्रमा गएर भिड्न खोज्नु गलत भएको टिप्पनी गरे । खिमबहादुर वलीको घर तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहामा छ । उनको निर्वाचन क्षेत्र नं. ३ (ख) मै पर्छ । वलीले निर्वाचन क्षेत्र नं. ३ (ख)को सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेता घर्तीको पुर्खेउली घर बबई गाउँपालिका वडा नं. ७ कृष्णपुरमा छ ।
त्यही भएर घर्ती खुसी छैनन् । अर्का आकाँक्षी वली तर्फ संकेत गर्दै एक क्षेत्रको ब्यक्ति अर्कौ क्षेत्रमा उम्मेदवारी दिन जान नहुने घर्तीले बताए । ‘आफ्नै क्षेत्रबाट चुनाबमा लडे हुन्छ नि,’ नेता घर्तीले भने ‘नेताहरुको हस्तक्षपकारी भूमिका स्वीकार्य हुँदैन।’ नेता घर्तीले त्यसको मुल्याङकन निर्वाचनमा न्यायप्रेमी मतदाताले गर्ने बताए ।
निर्वाचन क्षेत्र नं. ३ (ख) अन्तरगत तुलसीपुर उपमहानगरपालिकाका चारवटा वडाहरु १, २ ,१० र ११ राखिएका छन् । त्यस्तै दंगीशरण,शान्तिनगर र बबई गाउँपालिकाका २१ वटा वडाहरु समेत गरि २५ वडा यो निर्वाचन क्षेत्रमा समावेश गरिएका छन् । कुल मतदाता झन्डै साढे ४ सय जति छन् ।
पार्टीमा अनवरत रुपमा निकै सक्रिय र जुझारु नेता घर्ती युवामाझ निकै लोकप्रिय छन् । तेक्वादोका थ्री डान घर्ती निडर र निर्भिक पनि छन् । कुनै दिन नेता घर्तीले स्वर्गिय नेता खुमबहादुर खड्कालाई उनकै अगाडि उभिएर जिल्ला पार्टी कार्यालय घोराहीको बैठकमै आलोचना गरेका थिए ।
लामो समय उनले साबिक क्षेत्र नं. ५ का क्षेत्रीय सभापति वशन्त देवकोटाको नजिक रहेर संठगन बिस्तार र निर्माणमा दत्तचित्त भएर खटिएका नेता हुन । जस्ले स्वर्गिय देवकोटालाई आफ्नो राजनीतिक गुरु मान्ने गर्छन । कुनै दिन पार्टी भित्र नेता दीपक गिरीका प्रिय पात्र थिए । झन्डै पाँच बर्ष अगाडि नेता गिरी र घर्तीका बीचको सुमधुर सम्बन्धमा दरार पैदा भएपछि घर्ती नेता गेहेन्द्र गिरीको क्याम्पमा छिरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन ।

घर्तीको राजनीतिक जीवन यात्रा
बबई ७ कृष्णपुरका स्थायी बासिन्दा नेता घर्ती २०४६ सालको जनआन्दोलन पछि काँग्रेसको राजनीतिमा लागेको बताउँछन् । उनका सहोदर दाजु कुलबहादुर घर्तीपनि नेता हुन । जो २०४४ सालमै त्यहाँको उपप्रधानमा निर्वाचित भएका थिए । जतिखेर रणनीतिक रुपमा नेपाली काँग्रेसले पार्टी प्रतिबन्धित अवस्थामै आफ्नो मानिसहरुलाई पञ्चायतको उम्मेदवार बनाएको थियो ।
घोराहीबाट त्यो समयमा बलदेव शर्मा मजगैंयापनि उपप्रधानमा निर्वाचित बनेको घर्तीले बताए । ‘बहुदल स्थापनाका लागि भएको आन्दोलन ताका दाजुले पञ्चायतका बिरुद्ध ल्याएका पम्पिलेटहरु हामीले लुकिछिपी बाँडेको याद छ,’ घर्तीले भने ‘ २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना पछि म पनि नेविसंघबाट पञ्चकुलेमा भएको बिजयी र्यालीमा सहभागि भएको थिए।’
२०४८ सालदेखि तुलसीपुर बजारमा कोठा भाडामा बस्दै महेन्द्र माविमा पढेपनि घर्तीले एसएलसी भने २०५१ सालमा सल्यानको कपुरकोट माविबाट गरे । जतिखेर परीक्षा केन्द्र संखमुल माविमा थियो । त्यसपछि उच्च शिक्षाको लागि उनी राप्ती बबई क्याम्पसमा भर्ना भए । जतिखेर उनी तुलसीपुरमै तेक्वान्दो गेमपनि खेल्थे । एउटा छुट्टै पहिचान बनाई सकेका थिए । पढाईमा भन्दा खेलकुदमै घर्तीको मन जान्थ्यो । ब्याक लाग्यो । उनले आइएको पढाई पनि पुरा गर्न सकेनन् ।
राजनीतिक परिवारमा हुर्किएका टीकारामलाई राजनीतिमा स्थापित हुन धेरै संघर्ष गर्नु परेन । पार्टी बिभाजन भएपछि घर्ती तत्कालिन संस्थापन पक्षधर अर्थात कोईरालाको लाइमा थिए ।
एकै साथ तरुण दल र पार्टीको राजनीतिमा स्थान पाए । २०५८ सालमा एकै पटक तरुण दलको जिल्ला सदस्य र पार्टीको पनि जिल्ला कार्यसमिति सदस्य बन्न सफल भए ।
राजा ज्ञानेन्द्रको कू पछि आन्दोलन चर्कियो । लोकतन्त्र बाहालीको पक्षमा हुने आन्दोलनमा घर्ती अग्रपंक्तिमा खटिदै गए । दरबारले नै आयोजना गरेको तत्कालिन कथित स्थानीय तहको निर्वाचन बहस्किार अभियानका क्रममा युवा घर्ती पक्राउ परे । जस्ले तुलसीपुर क्षेत्रमा काँग्रेसबाट आन्दोलनको मोर्चा नै सम्हाल्ने गर्थे । जतिखेर नेपाली काँग्रेस दाङको जिल्ला सभापति बिरेकश्वरी गौतम थिए । त्यतिखेर उनको क्रियासिलता देखेर उनलाई नेपाल तरुण दलको तेस्रो महाधिबेशनवाट जिल्ला उपाध्यक्षमा मनोनित गरिएको थियो । जतिखेर सुशील आचार्यले तरुण दलको जिल्ला अध्यक्ष थिए । त्यतिखेर पार्टी एकीकरण भइ सकेको थिएन ।
तुसलीपुरको आन्दोलनबाट युवा नेता घर्ती संगै नेकपा एमालेका स्वर्गिय नेता श्रीमनि आचार्य, राष्ट्रिय जनमोर्चाका नेता भरत भण्डारीपनि संगै पक्राउ परेका थिए । उनीहरुलाई राख्ने ठाउँ नभएर दुर सञ्चार कार्यालयमा १४ दिन बन्दी बनाइएको थियो ।
त्यसपछि पनि निडर र निर्भिक स्वभावका युवा नेता घर्ती हरेक आन्दोलनको मोर्चाको नेतृत्व गर्न छोडेनन् । राप्रपाका अध्यक्ष कमल थापा घोराहीमा जिल्ला परिषदको उद्घाटन कार्यक्रममा आउँदा युवाको नेतृत्व गर्दै बिरोध र्याली निकाले । कमल थापालाई कालो झन्डा देखाउने क्रममा तरुण नेता घर्तीलाई प्रहरीले निर्घात कुटपिट गर्यो । ‘ मलाई प्रहरी यति कुट्यो कि त्यतिखेर मैले शरिरबाट टिसर्टपनि निकाल्न सकेको थिइन,’ घर्तीले त्यो क्षण संझिए ।
२०६२/०६३ को लोकतान्त्रिक आन्दोलनका क्रममा घर्ती तुलसीपुर, घोराही, लमही, भालुवाङसम्मको आन्दोलनको नेतृत्व गर्न पुगेको बताउँछन् । अवस्था यस्तो पनि हुन्थ्यो कि, तुलसीपुरमा टीकाराम घर्तीहरु बिरोधका कार्यक्रमहरुमा कहिले काँही एक्लै चोकमा उभिएको अवस्था पनि देखिन्थ्यो ।
‘त्यतिखेर मैले प्रहरीका धेरै कुटाई र यातनाहरु खेपेको थिए,’ घर्तीले भने ‘म पार्टीको इमान्दार सिपाही हुनुको नाताले आन्दोलनमा जान र काँग्रेसको झण्डा बोक्न कहिलै डराईन।’
२०६२/०६३ को आन्दोलन अर्थात जनआन्दोलन २ सफल भएको दोस्रो दिन नै इलाका प्रहरी कार्यालय तुलसीपुरमा तत्कालिन प्रहरी अफिसरले युवा नेता टीकाराम घर्तीलाई चिया खान बोलाए छन् । तर, आन्दोलनको नेतृत्व संम्हाल्दा प्रहरीका लाठी, बुट खेपेका युवा नेता घर्ती एक्लै त्यहाँ जान उचित छैन भन्ने ठानेर अग्रज नेताहरु मदन रसिक, केशब आचार्य, महादेव शाह र स्वर्गिय नेता वशन्त देवकोटालाई साथमै लिएर इप्रका पुगेछन् ।
त्यतिखेरै प्रहरी अफिसरले सबैका सामु भनेछन् – ‘यो तपाँईको दोस्रो जुन्म हो भन्ने ठान्नुहोस । यदी एक दुई दिन मात्रै ढिला भएको भए तपाँईको भौतिक सफाया हुन सक्ने अवस्था थियो ।’
त्यसवाट पनि उतिखेर घर्ती आन्दोलनहरुमा कति र कसरी खटिएका थिए भन्ने छर्लंग हुने यो यथेष्ट प्रमाण हो ।
पार्टीको लागि अन्य दलहरुले भने जस्तै घर्ती ‘होलटाईमर’ कार्यकर्ता नै थिए । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा तत्कालिन निर्वाचन क्षेत्र नं. ५ मा काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी प्रत्येक्ष तर्फको उम्मेदवार थिए । गिरीको पक्षमा माहोल निर्माण गर्न आँफू रातदिन खटिएको घर्तीले स्मरण गरे ।
शान्ति प्रक्रिया पछि माओबादीमा वाईसियलको ज्याजदी थियो । ठाउँ ठाउँमा आक्रमणका घटनाहरु भइरहन्थे । त्यस्तोमा अग्रपंक्तिमा घर्ती नै खटिन्थे । आफ्नो पार्टीका युवाहरु कुटिदा जाइलाग्थे । तर, त्यो निर्वाचनमा दीपक गिरी नेकपा माओबादीकी नेतृ सुष्मा घिमिरेसंग पराजित भए ।
२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा फेरि नेता गिरी निर्वाचन क्षेत्र नं. ५ बाटै उम्मेदवार बने । जतिखेर पनि युवा परिचालनको नेतृत्व घर्तीले नै गरे । नेता गिरी निर्वाचित भए । नेकपा एमालेका स्वर्गिय नेता उत्तरकुमार वली पराजित भए ।
२०७२ मा भएको नेपाल तरुण दलको चौथो अधिबेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भए । निर्वाचनमा उनले सुर्यप्रकाश रानालाई पराजित गरेका थिए । तरुण नेता घर्ती पार्टीको ११औं महाधिबेशन बाट निर्वाचित जिल्ला सदस्य हुन । १२औं र १३औं महाधिबेशनमा लगातार महाधिबेशन प्रतिनिधि निर्वाचित भए । यसै सेरो फेरोमा काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीसंग तरुण नेता घर्तीको खटपट सुरु भयो । लामो समय नेता दीपक गिरीको नजिकमा रहेर पार्टीमा काम गरेका घर्ती उनको घेरादेखि बाहिरिए ।
अहिले १४औं महाधिबेशनका क्रममा वडा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत रुपमा वडा क्षेत्रीय सभापति भएका छन् । ‘ मैले पार्टी र संगठन निर्माणका लागि धेरै दुःख कष्ट खेपेको छु,’ घर्तीले भने ‘ अब कार्यकारी पदमा बसेर समाज र कार्यकर्ताको सेवा गर्न चाहान्छु ।’
उनले कार्यकर्ता र मतदाताको भावना अनुरुप नै आफू दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) मा पदेश सभापतिको उम्मेदवार बनेको बताए । ‘ साढे चार सय मत मध्य मेरो पक्षमा बहुमत आउनेमा म ढुक्क छु,’ घर्तीले भने ‘ मेरो योगदानको पश्चिम दाङबासीले अवस्यपनि उचित मुल्याङकन गर्नु हुने छ ।’