
यमकला भुसाल,तुलसीपुर,असोज १४ ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका छन । असोज ९ गते भएको निर्वाचनबाट निर्वाचित भएकाहरुले १४ गते तुलसीपुरमा सपथ ग्रहण गरेका हुन । जिल्ला निर्वाचन कार्यालय दाङका सहायक अधिकृत कुमारराज श्रेष्ठले सपथ ग्रहण गराउँदै प्रमाण पत्रपनि प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस दाङका पूर्व सभापति धनश्याम रेग्मीले हार र जितको मानसिकता त्यागेर अब काँग्रेस एक ढिक्का बनाउन लागि पर्ने आग्रह गरे ।
‘चुनावमा भएको हार र जितमा कांग्रेस सकिदैन अनि सकिन दिनुपनि हुँदैन,’ उनले भने– ‘राजनितिमा हार जित हुन्छ । चुनाव एक प्रक्रिया हो । यसलाई बिर्सेर सबैजना संगठन निमार्णमा लाग्नु नै अहिलेको आवश्यकता हो।’
कांग्रेसको लक्ष्य देश विकास रहेको भन्दै रेग्मीले संगठनमा एकरूपता ल्याउन जरुरी रहेको बताए ।
आफु भित्र भएका कमी कमजोरीलाई सुधार्दै सबैलाई समान ब्यबहार गर्दै कांग्रेसलाई बलियो बनाउन तर्फ लाग्न नवनिर्वाचित पदाधिकारीहरुलाई आग्रह गरे ।
हरेक तहमा सबै वर्गलाई समावेश गर्ने तरिकाले आउंदो निर्वाचनको तयारीमा जुट्न उनले आग्रह पनि गरे । ‘अब प्रत्येक गाउँ÷नगरका नागरिकलाई क्रियाशील बनाऔं र आउँदो निर्वाचनका लागि तयारी अवस्थामा बसौं,’ उनले भने ।

कार्यक्रममा संविधान सभा सदस्य बुद्धिराम भण्डारीले नेपाली कांग्रेस भित्र आपसमा लड्ने र गुटबन्दीको खेल बन्द गर्न जरुरी रहेको बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य शंकर गिरीले युवाको जोसलाई नेपाली कांग्रेसको बलियो आधार बनाउनुपर्र्ने बताए ।
,‘अब युवाको जोस,जाँगरलाई कांग्रेसको बलियो आधार बनाउन सक्नु पर्छ,’ उनले भने ‘एकले अर्कौलाई समेटेर अघि बढेमा कांग्रेस भित्रको गुट–उपगुट अन्त्य हुनेछ ।’
महासमिति सदस्य देबीका नेपालीले कांग्रेसको इतिहासलाई सम्झेर सबै जाति र बर्गालाई समेटेर नेतृत्व उदार मनले अगाडि बढ्नु पर्नेमा जोड दिइन ।
कार्यक्रमलाई सम्बोधन गर्दै नव निर्वाचित नगरसभापति सुरेश हमालले आँफू तेरो मेरो नभनी सबैलाई समेटेर कांग्रेसलाई बलियो बनाउन तर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो कार्यकालमा नगर समितिको पार्टी कार्यालय स्थापना गर्ने र १९ वटैै वडामा पार्टी कार्यालय र संम्पर्क कार्यलयहरु स्थापना गर्ने मुख्य योजनाका साथ अगाडि बढ्ने बताए ।

महाधिवेशन प्रतिनिधि सुष्मा गिरीले निर्वाचनमा पुरुष सरह महिलालाई राजनीतिमा आउने वातावरण श्रृजना गर्न आग्रह गरिन । ‘सधै महिला नेतृत्वमा आउन सकेन््न भनेर मात्र हुदैन,’ उनले भनिन्,‘अब आउँदो निर्वाचनमा महिलालाई पनि नेतृत्वमा आउने वातावरण श्रृजना गरियोस । हामीपनि विश्वासको कांग्रेस बनाउन एक ढिक्का भएर लाग्ने छौँ ।’
जिल्ला निर्वाचन कार्यालय दाङका सहायक अधिकृत कुमारराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सभापति जगतबहादुर खड्का, नेता कांग्रेस नेता महादेव शाहले कांग्रेस एक ढिक्का हुन सकेन भने देश लथालिङ्ग हुने तर्क गरेका थिए ।
सो अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल,नेपाल नेत्र ज्योति संघका अध्यक्ष कृष्णकुमार गिरी , नेपाली काँग्रेस तुलसीपुरका कार्यबहाक सभापति भिमप्रसाद भण्डारी, नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मी लगाएतले नब निर्वाचित पदाधिकारीलाई बधाई मनतब्य राखेका थिए ।
