
दाङ, असोज ११ । बर्दियामा चितुवा खोरमा पसेर एकै रात २२ खसी बाख्रा मारेको छ । गुलरिया नगरपालिका वडा नं. ५ को सन्तोषी टोलका चन्द्रकान्त पौडेलको कृषि पशुपंक्षी तथा बाख्रा फार्मभित्र चितुवा पसेर गए राति २२ खसी–बाख्रा मारेको पीडित पौडेलले बताए ।
चितुवाले सात वटा खसी, एउटा राजस्थानी बोका, सात वटा माउ बाख्रा र अन्य पाठापाठी गरी २१ वटा खोर भित्रै मारेको र एउटा खसी भने लगेर गएको पौडेलले जानकारी दिए ।
चितुवाले खोर भित्रका २१ खसी बाख्रा मारेपनि एउटा एक महिनाको पाठीमात्रै ज्युँदो अवस्थामा फेला परेको पौडेलले फरककोणलाई बताए ।
चितुवाले एक महिनाको पाठीको पछाडिको भाग चिथोरेको अवस्थामा फेला परेको पौडेलले जाकारी दिए । अलि फराकिलो ठाउँ खोजेर आँफूले एक महिना अगाडिमात्रै उक्त ठाउँमा खोर सारेको पौडेलले बताए ।
अहिले पौडेलको घर र बाख्रा खोरको दुरी करिब साढे दूई मिटर रहेको पौडेलले जानकारी दिए । नजिकै वरिपरी छिमेकीका घर रहेपनि कसैले पनि राति खोर भित्र चितुव पसेर बाख्रा मारेको कुरा थाहाँ पत्ता नपाएको बताएका छन् ।
भेन्टिलेसनका लागि करिब दस फिटमाथि खुल्ला छोडिएको एक÷डेढ फिट ठाउँबाट खोरभित्र पसेको र सबै बाख्रा मारेपछि फेरि त्यही ठाउँबाट बाहिर निस्किएको पौडेलले जनाकारी दिए । उनले आँफूले बाख्रा खोरको ढोकामा ताल्चा लगाएको अवस्थामा चितुवा खाली ठाँउबाट भित्र प्रबेश गरेको देखिन आएको बताए ।
बाख्रा फार्मको नजिकै खुल्ला ठाउँमा बाँधेर राखेका दुई वटा गाई र त्यससँगै रहेका झन्डै डेढ सय जति लोकल कुखुराको खोरमा चितुवाले कुनै पनि असर गरेको छैन। पौडेलले ४÷५ वर्षदेखि व्यवसायिक रूपमा बाख्रा पालन गर्दै आएका थिए ।
पौडेलको बाख्रा फार्मको करिब एक सय मिटरपर सन्तोषी सामुदायिक वन रहेको छ। त्यहीबाट आएको चितुवाले पौडेलेको बाख्रा खोरमा पसेर सबै बाख्रा मारेको उनले बताए।