
तुलसीपुर, जेठ १८ । दाङको तुलसीपुरमा विवेकशिल साझा पार्टीले ‘सफा भान्सा तातो भात’ अभियान शुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका ८, अश्वारामा रहेको तुलसीपुर मेट्रो अस्पतालका कोभिड बिरामी र उनीहरुका कुरुवाहरुलाई लक्षित गरि ‘सफा भान्सा, तातो भात’ अभियान सञ्चालन गरिएको अभियानका उपसंयोजक तिकल केसीले बताए ।
पार्टीको लुम्बिनी प्रदेश, तुलसीपुर दाङको आयोजना तथा विवेकशिल साझा युवा संगठनको बिशेष सहयोगमा बिरामी र उनीहरका कुरुवालाई खाना खुवाउने उदेश्यका साथ अभियान सुरु गरिएको केसीले जानकारी दिए । जेठ १३ गतेदेखि शुरु भएको अभियानमा बिहानको एक छाक कम्तिमा २० जनालाई निशुल्क खाना खुवाउँदै आइएको केसीले जानकारी दिए ।
बिमारीको अबस्था हेरी खाना तथा जाउलो, दाल, तरकारी, सलाद, अचार, अण्डा सहितको खाना दिने गरेको केसीले बताए ।
खानापनि युवाहरु आफैंले मिलेर बनाउँदै आएका छन् । तुलसीपुरको जबरपुरस्थित भ्यूँयारथानको सामुदयिक भवनमा खाना बनाउने गरेको केसीले जानकारी दिए ।
सबैको साझा प्रयासबाट महामारीसंग जुध्न सजिलो हुने बुझेर आफुहरुले पार्टीमा सल्लाह गरि अभियान शुरु गरेको केसीले बताए ।
सुरुमा एक आपसमा रकम संकलन गरि अभयानको थालनी गरेको भएपयनि आज विभिन्न सहयोगी ब्यक्ती तथा संस्थाहरुले आर्थिक र खाद्यान्न सहयोग गर्दै आएको अभियान्ताहरुले बताएका छन् ।
पहिलो चरणमा तुलसीपुर मेट्रो अस्पातालमा आफुहरुले खाना खुवाउने निर्णय अनुसार काम भइरहेको पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संगठन बिभाग प्रमुख मधु सुदन केसीले जानकारी दिए । महामारीको समयमा सक्ने सबै मानविय सेवामा जुट्न आवश्यक रहेको केसीले बताए । आफुहरुको अभियानले गरिब परिवारका बिरामीका कुरुवा, घर टाढा भएकाहरु बढी लाभान्बित भएको उनले तर्क गरे ।
