काठमाडौं, वैशाख २१।नेकपा माओवादी केन्द्रले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। २०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीलाई माओवादीले समर्थन दिएको थियो।
प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरिसकेका छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिएको पत्र भोलि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने छ। ‘आज ढिलो भइसकेकाले समर्थन फिर्ताको पत्र भोलि दिने निर्णय भएको छ,’ स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले भने।
प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
