२०८३ असार ६ गते शनिवार

कृषि उपजलाई केन्द्रमा राखेर सहकारी बजार सञ्चालन गर्न मन्त्री पौडेलको आग्रह

घोराही, कार्तिक २९ । लुम्विनी प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषकले उत्पादन गरेका कृषिजन्य बस्तु बजारिकरणका लागि लुम्विनी प्रदेशका सवै जिल्लामा सहकारी बजारको शुरुवात गरिएको बताएकी छन् ।

सर्वेात्तम बहुउद्देश्यीय सहकारी संस्थाले दाङको घोराहीमा सञ्चालन गरेको सहकारी बजारको उद्घाटन गर्दै उनले त्यस्तो बताएकी हुन । ‘कृषकको उत्पादनले बजार नपाउने र उपभोक्ताहरुले बाहिरी देशबाट आयात गरिएका कषि उपज महंगोमा किनेर खानुपर्ने अवस्थाको अन्त्यका लागि प्रदेशका १२ वटै जिल्लामा सहकारी बजार कार्यक्रम शुरु गरिएको हो,’ उनले भनिन् ।

लुम्विनी प्रदेशका सवै उपमहानगरपालिकामा ठूला सहकारी बजार, एक सय नौं वटै पालिकामा कृषि स्मार्ट कार्यक्रम, बजार क्षेत्रका लागि शहरी कृषि कार्यक्रम, रोड करिडोर कार्यक्रम, विद्यार्थीलाई पढाईमा सहयोग गर्न पढ्दै कमाउदै कार्यक्रम, भैंसी स्रोत केन्द्र लगायतका कार्यक्रम शुरु गरिएको उनले जानकारी दिइन ।

किसानले उत्पादन गरेका बस्तुले बजार नपाएर खेर गइरहेका बेला दाङमै पहिलो पटक कृषि तथा अग्र्यानिक बस्तु पाइने सहकारी बजारलाई सफल बनाउन प्रदेश सरकारले सहयोग गर्ने उनले आश्वासन दिइन । उनले किसानको उत्पादनले बजार नपाउने तर बाहिरबाट कृषि उपज आइरहने प्रबृत्तिको अन्त्य गर्न प्रदेश सरकार लागि परेको दावी गरिन । सहकारी बजारमा आफूले उत्पादन गरेका बस्तु बेच्ने किसानहरुलाई महमा प्रतिकिलो २५ रुपैंया र तरकारीमा प्रतिकिलो २ रुपंैया प्रदेश सरकारले अनुदान दिने पौडेलले बताइन ।

लुम्विनी प्रदेशको ४९ लाख ४९ हजार ९ सय ४८ रुपैंया अनुदान र संस्थाको ५३ लाख ६० हजार ८ सय २८ गरी १ करोड ३ लाख १२ हजार ७ सय ७६ रुपैया सम्पत्ति खरिदतर्फ र चालु पूँजीतर्फ ४० लाख ५५ हजार ६ सय ५२ गरी कुल १ करोड ४३ लाख ६८ हजार ४ सय २८ रुपैंयाको लागतमा बजार सञ्चालनमा आएको हो ।

यो बजारमा स्थानीय उत्पादन, दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नहरु,अग्र्यानिक तरकारी तथा फलफूलहरु,दुध तथा दुग्धजन्य वस्तुहरु, तयारी तरकारी तथा खाद्यान्नहरु, स्थानीय तरकारी तथा खाद्यवस्तुहरु, पलाष्टिक भाँडाहरु, स्टेश्नरी तथा गिफ्टका समेत बस्तुहरु पाइन्छन् । सहकारी बजारले अनलाइनबाट खरिद, होम डेलिभरीको र डिजिटल भुक्तानीको माध्यमबाट कारोबार गरिने जानकारी दिएको छ ।

कार्यक्रममा अतिथि दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्दप्रसाद शर्मा, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले स्थानीय उत्पादनलाई केन्द्रमा राखेर सहकारी सञ्चालन गर्नु सुखद पक्ष भएको बताए ।

कार्यक्रम सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था दाङका अध्यक्ष ध्रुवराज पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०७७ कार्तिक ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *