२०८३ जेष्ठ ३१ गते आइतवार

पत्रकारलाई सेवाबाट हटाइएपछि प्रेस यूनियन आन्दोलित


दाङ, भदौ १५ । नेपाल प्रेस युनियनले राजनीतिक पूर्वाग्रह राखेर तीन जना पत्रकारलाई कामवाट हटाएको भन्दै त्यसको विरोध गरेको छ । हालसालै रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर रेडियो प्रसार विकास समितिले कामबाट हटाइए पछि प्रेस युनियन आन्दोलित बनेको हो । उस्ले तत्काल हटाइएका पत्रकारहरुलाई पुनःबहाली गर्न मागपनि गरेको छ ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा शनिवार बसेको केन्द्रीय पदाधिकारी र सदस्यसहितको आकस्मिक बैठकले सेवावाट हटाइएको तीनै जना पत्रकारहरुलाई तत्काल पुर्नवहाली नगरे चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको छ । बैठकपछि प्रेस युनियनका महासचिव अजय बाबु शिवाकोटीले जारी गरेको विज्ञप्तिमा यस अघि पटक पटक दबाब दिदै आएपनि रेडियो नेपालको व्यवस्थापन पक्षले कुनै सुनुवाई नगरेकाले बैठकले थप आन्दोलन गर्ने निष्कर्ष पुगेको उल्लेख गरिएको छ । साथै महासचिवले जारी गरेको विज्ञप्तिमा पहिलो चरणमा यही भदौ १८ गते विहान ११ बजे देशभरीका प्रेस युनियनका शाखालाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउन आग्रह गरिएको छ ।

प्रेस युनियनले सरकारी सञ्चारमाध्यममा वर्तमान सरकारले लामो समयदेखि काम गरिरहेका व्यवसायिक पत्रकारलाई निष्कासन गरी आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्ने तथा स्टिङगरको म्याद थप नगरेकोप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उस्ले यस्ता क्रियाकलापको विरोध एवं भत्सर्ना गर्दै तत्काल सच्याउन माग गरेको छ ।

त्यस्तै प्रेस स्वतन्त्रता विरोधी विभिन्न प्रावधान रहेको र सर्वत्र विरोध भएपछि केही समय स्थगन गरिएको मिडिया काउन्सिल विधेयक सरोकारवाला संघसस्थासँग कुनै सल्लाह र परामर्श नगरी एकाएक राष्ट्रियसभाबाट प्रक्रिया अघि बढाएकोप्रति बैठकको ध्यानाकर्षण भएकोे यूनियनले जनाएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *