२०८३ कार्तिक २९ गते शनिवार

घोराहीका दुई जुवामा एकै साथ प्रहरी कारबाही – ५ लाख बढी नगद बरामद


पक्राउ पर्ने १७ जना को – को हुन ?

तुलसीपुर , कात्तिक २८ ।
दाङको घोराहीका शनिबार बेलुकी दुई जुवामा एकै साथ प्रहरीले कारबाही चलाउँदा १७ जनालाई पक्राउ गरेको छ । ती जुवा खालबाट ५ लाख बढी नगद बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठ बिदामा रहेको समयमा डिएसपी हेमबहादुर केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सुरुमा साढे ५ बजेतिर घोराही उपमहानगरपालिका – १८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
त्यहाँबाट प्रहरीले घोराही – १४ स्वर्गद्धारी टोलका ४८ बर्षीय नवलसिंह डाँगी, घोराही – १३ डुमरगाउँका ४३ बर्षीय निमबहादुर भण्डारी र सोही ठाउँका ४३ बर्षीय तुलबहादुर खड्का, घोराही – १४ जनचेतना टोलका ३५ बर्षीय रामकृष्ण खड्का, घोराही– १८ का ४७ बर्षीय बसन्त बुढाथोकी (घरधनी) , घोराही –१४ का ४० बर्षीय यदुनाथ पाण्डे, घोराही – १० का ४० बर्षीय हिमराज केसी , घोराही – १४ का ३५ बर्षीय निमेश भण्डारी र सोही वडाको नयाँबजारका ४१ वर्षीय चन्द्रदेव बुढा पक्राउ परेका छन ।
यो जुवाखालबाट ४ लाख ८ हजार १ सय २० रुपैयाँ नगद र तीन गड्डी तास बरामद भएको जिल्लाका प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले जानकारी दिएका छन् ।

त्यस्तै त्यसको आधा घन्टाको अन्तरालमा घोराही–१५ जानकीटोलस्थित भुपबहादुर डाँगीको घरमापनि प्रहरीले छापा मारेको छ ।
जहाँबाट प्रहरीले डाँगीसहित ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने अन्य ब्यक्तिहरु घोराही –१५ जानकी टोलका ६० बर्षीय केशरबहादुर पछाई, सोही ठाउँका घरधनी ६८ बर्षीय भुपबहादुर डाँगी, ६४ बर्षीय लुमासिंह बस्नेत, ६५ बर्षीय निमबहादुर पुन र ५२ बर्षीय गिरीराज केसी , घोराही – १४ का ५३ बर्षीय ओबिन्द्र महरा, घोराही – १६ का ४७ बर्षीय तारा डाँगी र रोल्पाको रुन्टीगढी गाउँपालिका –५ का ३९ बर्षीय हिरालाल रावत रहेको प्रहरी निरीक्षक नेपालीले जनाएका छन् ।
डाँगीको घरबाट १ लाख ४ हजार ५ सय ८० रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ ।
यी दुई स्थानको जुवा कारबाहीबाट प्रहरीले कुल ५ लाख १२ हजार ७ सय रुपैयाँ नगद र ६ गड्डी तास बरामद भएको जनाएको छ ।
पक्राउ परेका सबै १७ जनालाई जिल्ला प्रहरी कार्यालय घोराहीमा राखेर आवश्यक अनुसन्धान भइ रहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *