२०८३ असोज २२ गते बिहिवार

अन्धोपन न्यूनिकरण गर्न सबैले हातेमालो गर्न जरुरी छ – कृष्ण गिरी


तुलसीपुर, असोज २२ ।


नेपाल नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्णकुमार गिरीले अन्धोपन न्यूनिकरणका लागि सबै निकायका बीचमा हातेमालो जरुरी रहेको बताएका छन् ।

विश्व दृष्टि दिवसका अवसरमा रक्षाचौरस्थि राप्ती आँखा अस्पतालमा बिहीबार आयोजित ‘आँखा स्वास्थ्य सेवामा पहुँच विस्तारमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रका प्रमुख अतिथि गिरीले त्यस्तो बताएका हुन ।
अझैंपनि ४० देखि ४१ प्रतिसत मानिसहरु आँखा अस्पतालका पहुँच भन्दा बाहिर रहेको भन्दै उनीहरुलाई अस्पतालसम्म ल्याउन जरुरी रहेको अध्यक्ष गिरीले बताए ।
‘ संघीय सरकारले बजेटमा आँखा अस्पतालका लागि भनेर एक पैंशा छ्टयाउँदैन,’ गिरीले भने ‘ हुने संग लिने र नहुनेलाई दिने गर्दै हामीले कतिपय अति गरिब ब्यक्तिलाई निशुल्क उपचार दिदै आएका छौं ।’
तर, उनले उज्यालो अभियान अन्तर्गत स्थानीय निकाय संग हातेमालो गर्दै आएको तथा कर्णाली प्रदेशमा प्रस्तावना पेश गरि उपकरण सहयोग प्राप्त गरेको उनले बताए ।
त्यस्तै उनले आँखासम्बन्धी धेरै समस्या समयमै पहिचान र उपचार गर्न सके दृष्टिविहीनता न्यूनीकरण गर्न सकिने अध्यक्ष गिरीले बताए ।

ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म आँखा स्वास्थ्य सेवा पुर्‍याउन स्थानीय सरकार, स्वास्थ्य संस्था, गैरसरकारी संस्था र सञ्चारमाध्यम बीच सहकार्य आवश्यक रहेको उनले बताए ।

आँखा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, आँखाका समस्या तथा रोगको समयमै पहिचान र उपचारका लागि सर्वसाधारणलाई सचेत बनाउने तथा गुणस्तरीय आँखा स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
आँखाको स्वास्थ्य सेवामा पहुँच विस्तार तथा दृष्टिविहीनता न्यूनीकरणका लागि सञ्चारकर्मीले जनचेतना अभिवृद्धिसँगै राज्यका सम्बन्धित निकायलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन ।

कार्यक्रममा अस्पतालका बरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत शालिकराम गौतमले प्रस्तुत तथ्यांकअनुसार सबैभन्दा बढि दृष्टिबिहिनको संख्या लुम्बिनी प्रदेशमा रहेको छ । लुम्बिनी प्रदेशमा दृष्टिविहीनताको दर १.७५ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशमा ०.९१ प्रतिशत रहेको छ । यसले लुम्बिनी प्रदेशमा आँखा स्वास्थ्य तथा दृष्टि संरक्षणका क्षेत्रमा थप ध्यान दिनुपर्ने अवस्था देखाएको गौतमले बताए ।

रिपोर्टहरुमा लुम्बिनीमा आँखा स्वास्थ्य सेवाको पहुँच, समयमै उपचार तथा रोकथामका कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ । त्यस्तै ४१ प्रतिसत आखाँका बिरामीले बेवास्ता गरेको, २० प्रतिसत दुर्गम, ३६ प्रतिसत आर्थिक समस्या र ३ प्रतिसत अन्यका कारण दृष्टिबिहिनको अबस्थामा औंल्याइएको थियो ।
कार्यक्रममा आँखा अस्पतालका कार्यकारी निर्देशक धर्मराज गोसाई आँखाको समस्या भएपछि मात्र उपचार गर्नेभन्दा नियमित आँखा परीक्षण, समयमै रोग पहिचान र आवश्यक उपचार गर्ने संस्कार विकास गर्नुपर्ने बताएका थिए ।
त्यस्तै सहायक प्राध्यापक डाक्टर रन्जीत साहले कुनैपनि समस्या आउना साथ आँफुखुसी मनपरी औषध प्रयोग नगरी समयमै अस्पतालमा आइ डाक्टरको सल्लाहमा मात्रै औषधि प्रयोग गर्न आग्रह गरेका थिए ।
नेपाल नेत्रज्योति संघका सदस्य ध्रुवराज गौतमको अध्यक्षतामा भएको विश्व दृष्टि दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बरिष्ठ प्रशासन अधिकृत जसराज बिकले स्वागत मन्तब्य र कार्यक्रम सञ्चालन संचार अधिकृत बालाराम खडकाले गरेका थिए ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *