
तुलसीपुर , असोज ३ ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गतको शनिबारदेखि मुलुकभर वडा अधिवेशन सुरु भएको छ ।
दाङमा पनि काँग्रेसको वडा अधिवेशनको रौनकता छाएको छ ।
यो जिल्लामा पनि शनिबार र आइतबार अनुकूलताअनुसार वडा अधिवेशन हुँदै छ ।
वडा अधिवेशनले एक जना वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्य निर्वाचित गर्नेछ ।
निर्वाचित वडा कार्यसमिति मध्यबाट कुनै एक ब्यक्तिलाई वडा सभापतिले कोषाध्यक्ष मनोनीत गर्न पाउने ब्यबस्था छ ।
काँग्रेसको बिधान अनुसार गाउँपालिका वडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र ३० वर्ष मुनिका एक युवासहित सात जना वडा सदस्यमा प्रत्यक्ष निर्वाचित हुने छन् ।
नगर – उपमहानगरपालिकामा दुई महिला, एक दलित र ३० वर्षमुनिका दुई युवासहित आठ जनालाई वडा सदस्यमा निर्वाचित हुने ब्यबस्था छ ।
महानगरपालिकाको हकमा कम्तीमा तीन महिला, एक दलित र ३० वर्षमुनिका तीन युवासहित ११ जना वडा सदस्यमा प्रत्यक्ष निर्वाचित हुने छन् ।
त्यस्तै कांग्रेसको विधानमा वडा सभापतिलाई वडा सदस्यका लागि मनोनीत गर्ने अधिकार स्थानीय तह अनुसार फरक / फरक छ ।
गाउँपालिकामा वडा सभापतिले पाँच, नगर –उपमहानगरपालिकामा ६ र महानगरपालिकामा वडा सभापतिले ७ जनालाई मनोनीत गर्न पाउने ब्यबस्था छ ।
काँग्रेस बिधानतह वडा सभापतिले कार्यसमितिमा एकतिहाइ सदस्य अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरेको छ । समावेशी सिद्धान्तअनुरूप सबै समुदायको प्रतिनिधित्व, अल्पसंख्यकको प्रतिनिधित्व, अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व, युवा प्रतिनिधित्व समेतलाई ध्यानमा राखेर क्रियाशील सदस्यमध्येबाट वडा सदस्य मनोनीत गर्नुपर्ने प्रावधान रहेको छ ।
गाउँ –नगर / उपमहानगर र महानगर वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू चयन हुने छन्। ।
क्षेत्रीय अधिवेशनका लागि सबै वडा अधिवेशनबाट समान संख्यामा प्रतिनिधिहरू चयन गर्ने व्यवस्था गरिएको छ ।
तर, काँग्रेसको यो वडा अधिवेशनमा भाग लिनका लागि गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेको हुनु पर्ने प्राबधान राखिएको छ । उनीहरु वडाकै क्रियाशील सदस्य हुनुपर्ने छ ।
