
तुलसीपुर , असार २२ ।
देउखुरीको गढवा गाउँपालिका–७ शान्तिपुरस्थित चन्दनपुर सामुदायिक वन क्षेत्रबाट एउटा अजिङगरको उद्धार गरिएको छ ।
१३ फिट लामो र ३० किलोभन्दा बढी तौलको अजिङरको पत्रकार शिवु खनालले उद्धार गरेका हुन ।
उक्त अजिङगरले वनमा चरिरहेको बाख्रालाई आक्रमण गरेको थियो ।
अजिङगरले बाख्रालाई बेरी खान खोजेपछि ग्वाला गएकाहरुले डिभिजन वन कार्यालय देउखुरीमा खबर गरेका थिए । त्यो सूचनाका आधारमा पछिल्लो समय सर्प उद्धारमा सक्रिय पत्रकार समेत रहेका खनालसहित डिभिजन वन कार्यालयको टोली त्यहाँ पुगेको थियो।
खनालले स्थानीयको सहयोगमा अजिङगरलाई नियन्त्रणमा लिइ सुरक्षित डिभिजन वन कार्यालय देउखुरीको जिममा लगाएका थिए ।
उक्त अजिङगर वनले आवश्यक प्रक्रिया पूरा गरी प्राकृतिक वासस्थानमा छाड्ने भएको छ । अजिङगरको आक्रमण्मा परेको गढवा गाउँपालिका–७ शान्तिपुरकी सरिता बुढाथोकीको बाख्रा मरेको थियो ।
अजिङ्गर नेपालमा संरक्षित सूचीमा रहेको प्रजाति हो।
डिभिजनल वन अधिकृत गणेश खड्काका अनुसार देउखुरी क्षेत्रबाट हालसम्म एक दर्जनभन्दा बढी अजिङगरको उद्धार गरी सुरक्षित प्राकृतिक वासस्थानमा छाडिएको छ।