२०८२ असार ७ गते आइतवार

हमालको नेतृत्व, यसरी फेरियो काँग्रेसको पार्टी कार्यालय

तुलसीपुर, ३ भदौ । सुरेश हमाल नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाको सभापतिमा निर्वाचित भएर क्षेत्रीय पार्टी कार्यालय जाँदा विजोग देखे । बिजुली बत्ती र पिउने पानीको धारा दुबै काटिएका थिए । कारण, लामो समयदेखि विद्युत र खानेपानीको बक्यौता कसैले तिरेको थिएन । पानीबिना शौचालय दुर्गन्धित हुने नै भयो । पिसाबका लागि जाँदा पनि नाक मुख थुनेर जानुपर्ने अवस्था थियो ।

पार्टी कार्यालय परिसर त्यस्तै झार जंगलले भरिएको थियो । नगर कार्यसमितिका लागि छुट्टै कार्यालय पनि थिएन । त्यो सबै देखेर तुलसीपुर नगर सभापति हमालको मन भतभती पोल्यो ।

नेपालकै ऐतिहासिक पार्टी काँग्रेसको क्षेत्रीय पार्टी कार्यालयको दुर्दशा अरू जस्तै टुलुटुलु नियालेर मात्रै बस्न उनको मनले मानेन । त्यसैले हमालले मनमनै अठोट गरे । नगरको आफ्नै कार्यकक्ष निर्माण गर्ने । पार्टी कार्यालय चिटिक्क र व्यवस्थित बनाउने ।
सबैमाझ लोकप्रिय हमाललाई राम्रोसँग थाहा थियो । ‘एक थुकी सुकी, हजार थुकी नदी’ बन्छ भन्ने कुरा । सभापति हुनुको हैसियतले युवा नेता हमालले आफू मातहतका सबैलाई आफ्नो प्रस्ताव सुनाए ।

राय, सल्लाह मागे । उनी एकल सोच र निर्णयले मात्रै काम गर्ने पक्षमा थिएनन् । लोकतान्त्रिक विधि र पद्धति आत्मसात् गर्दै आएको पार्टीमा त्यही शैली अनुशरण उपयुक्त हो भन्ने सभापति हमाललाई राम्रो हेक्का थियो ।

राम्रो गर्न खोज्ने, सुधार गर्न चाहने ब्यक्तिलाई अपवादबाहेक कसले साथ दिदैन । सभापति हमालको प्रस्ताव कार्यसमितिका सबैले सहर्ष स्वीकार गरे । सबैले सक्दो सहयोग गर्ने बचन पनि दिए । हमाललाई चाहिएकै त्यही थियो । उनले साथीहरूको आँट र हौसलाले सुधार तथा परिवर्तनको उडान सुरू भयो ।

सबैभन्दा पहिला बिजुली बत्ती र खानेपानीको बक्यौता तिर्नुपर्ने थियो । आफू निर्वाचित भएर आएको केही दिनमै एक लाख पाँच हजार ती दुई ठाउँको बक्यौता तिर्न वातावरण मिलाए ।

त्यसपछि सभापति हमाललाई थप उर्जा मिल्यो । हौसलाको उडानमा थिए उनी । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ इन्द्रनगर टोलस्थित दाङ क्षेत्र नं. ३ को क्षेत्रीय पार्टी कार्यालय झन्डै डेढ कट्ठा बढी क्षेत्रफलमा रहेको छ । क्षेत्रीय सभापति जगतबहादुर खड्काका अनुसार काँग्रेस नेता जानकी धितालले हाल करोड बढी मूल्य पर्ने उक्त जग्गा निःशुल्क पार्टीलाई प्रदान गरेका हुन् । त्यसमा दाजुहरू देवराज र हुमाले पनि सघाएका थिए ।

हमाल तुलसीपुर सभापतिमा २०७८ असोज ९ गते निर्वाचित भएका थिए । हमालले जम्मा ५९३ मतमध्ये काँग्रेसको १४औं महाधिवेशनमा युवा अनिल कार्कीलाई हमालले १६० मतान्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए ।

निर्वाचित त भए, तर आफ्नै कार्यालय थिएन । झोलामा कार्यालय थियो । अझ रोचक कुरा नगर कार्यसमितिको माइन्युट बुकसमेत फेला परेन । त्यसैले निर्वाचित हुनासाथ सभापति हमालले एउटा रजिष्टर किन्न लगाई तत्कालिन कार्यबाहक नगर सभापति भिमप्रसाद भण्डारीमार्फत त्यो माइन्युट हस्तान्तरण गर्न लगाई औपचारिक रूपमा कार्यभार सम्हालेका थिए ।

हमालले आफैलाई प्रश्न गरे ‘आकाशमा उड्ने एउटा चरोले त बस्नलाई एउटा गुँड बनाएको हुन्छ भने एउटा इतिहास बोकेको, २००३ सालमा जन्मिएको पार्टीको किन, आफ्नै कार्यालय व्यवस्थित नबनाउने ?’

हमालले कम्मर कसे । क्षेत्रीय पार्टी कार्यालयमै नगर कार्यसमितिको छुट्टै कार्यकक्ष र पार्टीका लागि बैठक बस्नका लागि आफ्नै सभाहल निर्माण गर्ने अठोट गरे । त्यसका लागि सुरूमा ब्यक्तिगत रूपमै आर्थिक घोषणा गरे ।

सबै उद्योगी, व्यवसायीसँग सहयोगको लागि हात फैलाए । हमालले ब्यक्तिगत लाभका लागि भन्दा पनि संस्थाको लागि गरेको अपिलमा सबैले साथ समर्थन जनाए, सहयोगको आश्वासन दिए ।

धमाधम सहयोग जुट्न थाल्यो । कसैले कुर्सी सहयोग गरे, कसैले सिमेन्ट, बालुवा, गिट्टी, इट्टापनि सहयोग स्वरूप प्राप्त भयो । नौं इञ्चको बलियो गारो, बलियो र सुन्दर गेट, जिप्सन टायल, वरिपरी बलियो पर्खाल लगाएर पार्टी कार्यालय सुरक्षित र सुन्दर बनाउँदासम्म ४० देखि ४२ लाखसम्म खर्च लाग्यो ।

नगर कार्यालयमा टेबुल, कुर्सी, सोफा, दराज, चिटिक्क परेको रोष्टमले सजाइएको छ । सिलिङ र वाल गरी २५ भन्दा बढी नयाँ पंखाहरू जोडिएका छन् । २ सय ५० जना अट्न सक्ने सभाहल र नगर समितिको लागि छुट्टै कार्यालय निर्माणको काम ६ महिना बित्दा नबित्दै चैत मसान्तसम्म तयार भइसकेको थियो ।

२०५२ सालतिर निर्मित क्षेत्रीय पार्टी कार्यालयको मुहार नगर सभापतिमा हमाल निर्वाचित भएर आएको ६ महिनामै फेरिएको देखेर सबै दंग परे । आजपनि यति छिटो कसरी यति धेरै काम गर्न हमाल सफल भए ? भनेर धेरैले जोड घटाउ गरिरहेका हुन्छन् ।

दृढ इच्छा शक्तिका साथ काम गरे असम्भव केही रहेन छ भनेर हमालले प्रमाणित गरेका छन् । १० मिटर मोहडा र ६० मिटर पिछवारसहितको जग्गा आज पूर्ण सदुपयोग भएको छ । पिसावका लागि चारवटा शौचालय, दिसाको लागि थप अर्को शौचालय, वाइफाई, पिउने पानीको लागि अक्वागार्ड, २५ वटा नयाँ पंखाहरू जडान गरिएका छन् ।

त्यस्तै प्राङ्गणमा काँग्रेसका संस्थापक नेता बिपी कोइराला, लौहपुरूष गणेशमान सिंह र निडर र निर्भिक नेता खुमबहादुर खड्काको अर्धकदको शालिक प्राङ्गणमा राखिएका छन् ।

तुलसीपुरको बिपी चोकमा नयाँ शालिक राखिएपछि त्यहाँको पुरानो शालिक पार्टी कार्यालयमा ल्याइएको हो । गणेशमान र खुमबहादुरको शालिक भने नयाँ निर्माण गरिएको हो । यी दुई नेताको शालिक निर्माण गर्दा एक लाख जति खर्च भएको सभापति हमालले जानकारी दिए ।

यी शालिकहरू भदौ १० गते एक कार्यक्रमका बीच अनावरण गर्ने तयारी गरिएको छ । केन्द्रीय सदस्यद्वय दीपक गिरी र गेहेन्द्र गिरी दाजु भाइबाट ती शालिक अनावरण गर्ने कार्यक्रम तय भएको स्रोतले फरक कोणलाई जानकारी दिएको छ । सोही दिन नगर कार्यसमितिले पार्टी कार्यालयमा तीज मिलन कार्यक्रम पनि आयोजना गरेको छ ।

त्यस अवसरमा दाङ क्षेत्र नं. ३ मा बसोबास भई तत्कालिन समय नेकपा माओवादीबाट हत्या गरिएका सातजना परिवारका सदस्यलाई र बेपत्ता दुईजना परिवारका सदस्यलाई नगर कार्यसमितिले सम्मान गर्ने कार्यक्रम तय गरेको छ ।

भवन निर्माणमा कसको कति सहयोग ?

तुलसीपुरस्थित क्षेत्रीय पार्टी कार्यालयमा सभाहल र नगर कार्यसमितिको भवन निर्माणका क्रममा केही प्रमुख सहयोगीदाताहरू । जसले एक लाख बढीको सहयोग गरे ।
१. लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीमार्फत भ्याटसहित ९ लाख ९८ हजारको भौतिक निर्माण ।
२. तुलसीपुर नगर सभापति – सुरेश हमाल (३ लाख २५ हजार ५ सय ५५ रूपैयाँ)
३. नगर उपसभापति विनिल केसी (३ लाख १५ हजार ५ सय रूपैयाँ)
४. युवा व्यवसायी बसन्त केसी (२ लाख २५ हजार रूपैयाँ)
५. तुलसीपुर– १३ फूलबारी घर भइ हाल अमेरिका बस्दै आएका बसन्त अधिकारीबाट नगद (१ लाख २३ हजार ४ सय ५६ रूपैयाँ)

६. उद्योगपति तथा काँग्रेस नेता डिल्लीबहादुर बस्नेतबाट २ सय वटा नयाँ कुर्सी र २ हजार इट्टा ।
७. तुलसीपुरका युवा व्यवसायी पदम केसी (१ लाख ११ हजार १ सय ११ रूपैयाँ)
८. तुलसीपुर घर भई हाल अमेरिका बस्दै आएका सुरेश हमाल (१ लाख रूपैयाँ)

तुलसीपुरका १९ वटै वडामा वडा कार्यालय भवन बनाउने सपना

निर्वाचनको क्रममा गरेको बाचाअनुसार नगर सभापति हमालले सबै वडाहरूमा पार्टीको वडा कार्यालय भवन निर्माणको लागि ब्यक्तिगत रूपमा सहयोग घोषणा गरिसकेका छन् । हरेक वडालाई ५१ हजार नगद प्रदान गर्ने घोषणा सभापति हमालले यसअघि नै गरि सकेका छन् ।

‘जहाँ–जहाँ जसले भवन बनाउन सुरू गर्छन् सबैभन्दा पहिला मैले घोषणा गरेको रकम उपलब्ध गराउने छु’ हमालले भने ‘हरेक वडामा पार्टी कार्यालय भवन भएमा झोलामा कार्यालय बोक्नु पर्ने समस्या समाधान हुन्छ र त्यसले काँग्रेसलाई गतिशील बनाउने छ ।’

घोषणा गरेका ठाउँहरू मध्ये हालसम्म तुलसीपुर–११ प्रिगाउँमा भवन निर्माण प्रक्रिया सुरू भएको हुँदा ५१ हजार नगद हमालले उपलब्ध गराइ सकेका छन् । पार्टीको वडा कार्यालय भवन निर्माणका लागि वडा नं. ११ र १५ मा केन्द्रीय सदस्य दीपक गिरीले शिलान्यास गरिसकेका छन् ।

तुलसीपुर–८ मा रामचन्द्र केसीले पार्टीका नाममा जग्गादान गरिसकेका छन् । जग्गा पार्टीको नाममा नामसारी भइसकेको छ । तुलसीपुर–१४ मा पनि पार्टीको नाममा जग्गा उपलब्ध भइसकेको हुँदा अब भवन निर्माणको कामले गति लिने विश्वास नगर सभापति हमालले ब्यक्त गरे ।

प्रकाशित मिति : २०७९ भाद्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *