कैलाली,असोज २९ । कैलालीका छुट्टाछुट्टै ठाउँबाट प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।
गोदावरी नगरपालिका–१, भरतपुरबाट स्थानीय ५९ वर्षीय सहदेव भण्डारीलाई ५४५ ग्राम लागुऔषध चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चरेसको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले भण्डारीको घरमा खानतलासी गर्दा चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए।
त्यस्तै, धनगढी उपमहानगरपालिका–७, मनेहरा बस्ने २९ वर्षीय प्रकाश रानालाई लागुऔषध खैरो हेरोइनसहित सोही ठाउँबाट हिजो बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रानाको साथबाट १८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।
प्रकाशित मिति : २०८१ असोज २९ गते मङ्गलवार