सुर्खेत,असोज १८ । हुम्लामा सुत्केरी बेथा लागेकी एक महिलाको बिहीबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको छ।
बेथा लागेकी गर्भवती महिलाको गर्भमा रहेको शिशु उल्टो रहेको पाइएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेतस्थित प्रदेश अस्पताल काला गाउँमा उद्धार गरिएको हो।
प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बेथा लागेर उद्धार गरिएकी महिला अदानचुली गाउँपालिका– ४ की वर्ष २४ की राजकला ढकाल रहेको जानकारी दिए।
सुत्केरी बेथा लागेकी ढकाललाई असोज १६ गते श्रीनगर स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो।
त्यहाँ उपचार हुन नसक्ने भएको कारण जिल्ला बाहिर गाउँपालिका, स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको हो।
असोज १७ गते बेलुका उद्धारका लागि सिफारिस गरिएको भएको कारण ढिलो भएको कारण आज बिहानै उद्धार गरिएको हो।
हेलिकोप्टरबाट उद्धार गरिएकी महिलाको हवाई भाडा भने राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट बेहोरिने छ।
यस वर्षको यो सुत्केरी बेथा लागेकी महिलाको पहिलो उद्धार हो। गत वर्ष एघार जना गर्भवती महिनाको हवाई उद्धार गरिएको थियो।