काठमाण्डौ ,माघ २२ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ ।
९५ वर्षका जबराको काठमाण्डौमा रहेको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान निधन भएको उनका ज्वाइँ तथा नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापाले जानकारी दिए ।
जबरा नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव थिए। उनी हिमालयन बैंकका संस्थापकसमेत थिए। १४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए ।
राजा महेन्द्र शाहले राष्ट्र बैंकको स्थापना गरेर मासिक ८ सय तलब खानेगरी गभर्नरको नियुक्ति दिँदा उनी २९ वर्षको मात्रै थिए ।
प्रजातन्त्रको चेतका कारण राणा परिवारमा जन्मिए पनि उनी राणाविरोधी आन्दोलनमा सक्रिय रुपमा सहभागी भएका थिए। जबराको नेतृत्वमा राष्ट्र बैंकले नेपालको वित्तीय क्षेत्रमा उथलपुथल नै ल्याएको थियो ।
नेपालमा भारतीय नोटको प्रचलनलाई हटाउनेदेखि अरु वित्तीय सुधारका कामहरु पनि उनकै पालामा भएको थियो ।
जबराले संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आएका थिए ।