२०८२ माघ २८ गते बुधवार

डायलासिस सेवा नहुँदा सास्ती

बर्दिया, पुस ८ । बर्दियाको मधुवन नगरपालिका–४ की मिर्गौलापीडित हरिराम चौधरीलाई हप्तामा तीन पटक डायलासिस गराउनुपर्छ।

उनी डायलासिसका लागि नेपालगञ्ज मेडिकल कलेज रहेको कोहलपुरमा कोठा भाडा लिएर बस्दै आएकी छिन ।

गुलरिया नगरपालिका–२ की मिर्गौलापीडित पवित्रादेवी सुवेदी हप्तामा दुई पटक डायलासिस गर्न नेपालगञ्ज मेडिकल कलेज कोहलपुर धाउछिन ।

त्यस्तै बारबर्दिया नगरपालिका–६ का कृष्णबहादुर सुनारको मिर्गौलाले काम गर्न छाडेपछि डायलासिस तीन वर्षअघिदेखि हप्तामा दुई पटक डायलासिस सेवा लिइरहेका छन ।

उनी पनि उपचारका लागि कोठा भाडा लिएरै कोहलपुरमा बस्दै आएका छन । घरदेखि टाढा कोठा भाडा लिएर उपचारका लागि बस्नु पर्दाको पीडा भनिसाध्य छैन।

मिर्गौलापीडित चौधरी, सुवेदी र सुनारजस्तै बर्दियाका अन्य बिरामी नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, भेरी अस्पताल नेपालगञ्ज, भारतका बहराइच र लखनउलगायत काठमाडौँ र अन्य स्थानका अस्पतालमा धाउन बाध्य छन्।

बर्दियामा ८७ जना मिर्गौलापीडित रहेका छन्। ती सबै बिरामी जिल्लाभित्रै डायलासिसको सुविधा नहुँदा टाढा तथा बाहिरका अस्पतालमा उपचार गराउन बाध्य छन्।

बर्दियामा मिर्गौलाका बिरामीको सङ्ख्या धेरै भए पनि डायलासिसको सुविधा छैन। सहजै उपचार सम्भव नभएपछि पीडितहरू जीवन र मरणको दोसाँधमा छन्।

मिर्गौलापीडित पवित्रा सुवेदीले भनिन्, “उपचार सहज छैन, उपचारका लागि जिल्लाबाहिर जानुपर्छ।”

बर्दिया अस्पताल विकास समिति अध्यक्ष नारायण गौतमले डायलासिस सेवा सञ्चालन गर्नका लागि निर्णय गरेर लुम्बिनी प्रदेश सरकारसँग मेसिनको माग गरेको बताउछन ।

लुम्बिनी प्रदेश सरकारले पाँचवटा डायलासिस मेसिन दिने निर्णय गरिसकेकाले अब छिट्टै बर्दिया अस्पतालबाट नै डायलासिस सेवा उपलब्ध हुने उनले बताए ।

जिल्लामै सो सेवा सुरु गर्न सकिएमा मिर्गौलापीडित बिरामीको उपचारमा सहज हुने र बाहिर बस्दा हुने खर्चमा कमी हुने अध्यक्ष गौतमको भनाइ छ।

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *