काठमाण्डौ,असार २९ । आज गुरु पूर्णिमा । असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइन्छ ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डाक्टर रामचन्द्र गौतमले बताए ।
यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–
‘गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर ः।
गुरुस् साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम ः ।।’
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ ।
यस्तै आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।
व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोजेका छन–
‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय, पापाय परपीडनम्’ ।।
अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवम् अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन ।