२०८१ असोज २९ गते मङ्गलवार

जहाजमा यात्रा गरिरहेका थप ४१ जनामा काेराेनाकाे सङ्क्रमण देखियाे, जापानमा मात्रै ८६ जना सङ्क्रमित

काठमान्डौँ,२४ माघ । जापानको योकोहामा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेका थप ४१ जनामा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

यसअघि जहाजमा यात्रा गरिरहेका १० जनामा कोरोनाको सङ्क्रमण देखिएपछि चालक दलका सदस्यसहित जहाजमा रहेका ३ हजार ७ सय जनालाई गएकाे बुधबारदेखि नै १४ दिने क्वारेन्टाइनमा राखिएको थियो ।

जहाजमा यात्रा गरिरहेका थप ४१ जनामा कोरोनाको सङ्क्रमण देखिएसँगै जहाजमा रहेका ६१ जनामा कोरोनाकाे सङ्क्रमण भएको पुष्टि भएको जनाएको छ । उनीहरुलाई अस्पताल लैजाने तयारी भएको छ ।

जहाजमा रहेका २८ जना जापानी, ११ जना अमेरिकी, अस्ट्रेलिया र क्यानाडाका सात–सात जना, चीन र हङकङका तीन–तीन जना, न्युजिल्याण्ड, ताइवान, फिलिपिन्स र अर्जेन्टिनाका एक–एक जनामा कोरोना भएको पाइएको हो ।

योसँगै जापान चीनपछि कोरोनाका बिरामी धेरै देखिने देश बनेको छ । जापानका ८६ जनामा कोरोना भएको पुष्टि भएको छ । वुहान शहरबाट सुरु भएको कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा मात्रै ६ सय ३६ जनाको ज्यान गैसकेको छ भने ३१ हजार १ सय ६१ जनामा सङ्क्रमण भएको पाइएको छ ।

यस्तै चीन बाहिर २५ देशमा कोरोना सङ्क्रमित भेटिएकामा अहिलेसम्म फिलिपिन्स र हङकङमा एक–एक जनाको ज्यान गैसकेको छ ।

 

 

 

प्रकाशित मिति : २०७६ माघ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *