२०८३ असोज १२ गते सोमवार

चोरी गरेको अभियोगमा कार्यपालिका सदस्यसहित ४ जना पक्राउ

दाङ, असोज १२ ।
बैतडीमा घरको छानो फोडी चोरी गरेको आरोपमा एक जना कार्यपालिका सदस्यसहित चार जना पक्राउ परेका छन् ।
जिल्लाको दशरथचन्द नगरपालिका – ५ का ४९ बर्षीय बिनोद लोहार, २७ बर्षीय तबिराम लोहार, २६ बर्षीय महेशराम लोहार र दशरथचन्द – ८ का ३७ बर्षीय लक्ष्मणसिंह मौनी पक्राउ परेका छन् । बिनोद दशरथचन्द नगरपालिकाका कार्यपालिका मनोनित सदस्य हुन ।
गत भदौ १० गते राति करिब ११ बजेतिर घरमा कोही नभएको मौका छोपी कार्यपालिका सदस्य बिनोदसहित चार जनाले दशरथचन्द – ५ आला गाउँका स्थानीय मधुसुदन भट्टको घरको छत फोडेर भित्र प्रबेश गरि चोरी गर्नुका साथै राजेन्द्र भट्टको घरको ढोका फोडेर भित्र प्रबेश गरि सुनका गरगहना, केही नगद र भाँडा बर्तन चोरी गरेको आरोप उनीहरु माथि छ ।
घरमा कोही नभएको मौका छोपी उनीहरुले रातिमा घर भित्र प्रबेश गरि चोरी गरेका थिए ।

जिल्ला प्रहरी प्रमुख डिएसपी दीपकुमार रायका अनुसार कार्यपालिका सदस्य बिनोदसहितको चार जनाको समुहले मधुसुदनको घरको छाना फोडेर भित्र प्रबेश गरि तामको ताउला चार वटा, तामाको पूजा थाली एउटा, तामाको लोटा तीन वटा, पितलको बाँटा दश वटा, तामाको मानो एउटा, पित्तलका ताउला छ वटा, पितलको थाल सात वटा, कासको थाल छ वटा, पितलको लोटा आठ वटा, पितलको लोटा चार वटा, तामाको गाग्री पाँच वटा, पितलको भगबतिको मुर्ती एउटा, पितलको हुक्का एउटा, खुकुरी दूई वटा, नेपाली ११ हजार नगद चोरी गरेका थिए ।
यो समुहले मधुसुदनको घरबाट टिनको बाकस फोडेर सुनको चार आनाको तिलहरी एउटा, सुनको नाकमा लगाउने झुम्का एउटापनि चोरी गरेको डिएसपी रायले जानकारी दिए ।
उनीहरुले कोही नबस्ने राजेन्द्रको घरबाट ढोका फोडेर भित्र प्रबेश गरि तामाको ताउला तीन वटा, तामाको गाग्री तीन वटा, पितलको बाटा तीन वटा, तामाको बाटा चार वटा, तामाको लोटा तीन वटा चोरी गरेको पाइएको छ ।

आरोपी चारै जना उनीहरुलाई प्रहरीले आइतबार नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका नगरकार्यपालिका सदस्यसहित चारै जनालाई चोरी अभियोगमा मुद्दा चलाउने गरि म्याद थपका लागि सोमबार जिल्ला अदालत पुर्‍याइएको छ ।

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *