दाङ , असार १९ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका एक जना मन्त्रीलाई बिहीबार पदबाट बरखास्त गरेका छन ।
मुख्यमन्त्री शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका हुन ।
आर्थिक अनुसाशन कायम गर्न नसकेको आरोप लागेपछि असार ५ गते नै मुख्यमन्त्री शाहले चौधरीलाई राजिनामा दिन आग्रह गरेका थिए । तर, चौधरीले राजिनामा नदिएर बसेका थिए । त्यसैले मुख्यमन्त्री शाले चौधरीलाई मन्त्री पदबाट हटाएका हुन ।
आफ्ना मन्त्री चौधरीलाई बखास्त गरेपछि नागरिक उन्मुक्ति पार्टी रुष्ट बनेको छ । उस्ले तत्काल सरकारलाई गरेको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । संघदेखि प्रदेश सबै ठाउँमा समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले चेतावनी दिएका छन् ।
सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वमा नेकपा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ । यो प्रदेशमा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन ।
नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई कुनै असर पर्ने देखिदैन ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद भए पुग्छ । नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री शाह नेतृत्वको सरकार डगमगाउने स्थिति आउँदैन ।
