काठमाडौं, बैशाख २ । सर्वौच्च अदालतले नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
अदालतले गिरीलाई पदमुक्त गर्ने निर्णयलाई रोक लगाउँदै मुद्दाको अन्तिम किनारा नलाग्दा सम्म सांसदको हैसियतमा काम गर्न दिन आदेशपनि गरेको छ ।
प्रदेश सभा सचिवालयले गिरीलाई चैत २६ गते सांसद पदबाट मुक्त गरेको सूचना टाँसेको थियो।
त्यसका बिरुद्ध गिरीले चैत ३० गते प्रदेश सभा सचिवालयसहित ५ जनाविरूद्ध रिट दायर गरेकी थिइन ।
त्यसमाथि सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको आइतबारको इजलासले गिरीलाई फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
उक्त पार्टी भित्रको आन्तरिक किचलोका कारण गिरी तनाबमा थिइन । त्यसमा तत्कालका लागि सर्बोच्चले उनकै पक्षमा आदेश दिएको छ ।