२०८२ माघ १० गते शनिवार

सदनको अवरोध हटाउन ओलीसँग प्रचण्डको छलफल

काठमाडौं,साउन १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेट भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

दुई नेताबीच संसद्‍को अवरोध हटाउनेबारे कुराकानी भएको बुझिएको छ। नेकपा एमालेले सय क्विन्टल तस्करीको सुनबारे सरकारले जवाफ दिनुपर्ने भन्दै संसद् अवरोध गर्दै आएको छ।

गत बुधबारको प्रतिनिधिसभा बैठक एमालेले अवरोध गरेपछि नियमित कार्यसूचीमा प्रवेश गर्न पाएको थिएन।

प्रतिनिधि सभाको अर्को बैठक भोलि सोमबारलाई तय भएको छ। भोलि पनि एमालेले बैठक अवरुद्ध गर्ने भएपछि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग वार्ता गरेका हुन्।

भेटमा सर्वोच्च अदालतका प्रधान न्यायाधीश सिफारिसबारे पनि कुराकानी भएको बताइएको छ। यही साउन २० गतेदेखि प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि सकिँदैछ।

प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषद्को बैठक बोलाएर नयाँ प्रधान न्यायाधीश सिफारिस गर्नुपर्ने भएकोले प्रचण्डले ओलीसँग छलफल गरेका हुन्। प्रमुख प्रतिपक्षी दलका नेता पनि परिषद् सदस्य हुने प्रावधान छ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *