काठमाडौं ,चैत १६ । नेपाली कांग्रेसको शेखर कोइराला समूहले तीन जना मन्त्री पाउनुपर्ने माग अघि सारेको छ ।
बिहीबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पार्टी कार्यालय सानेपामा बसेको कोइराला समूहको बैठकले तीन मन्त्रीको माग गर्ने निर्णय गरेको हो । सत्ता गठबन्धनभित्र कांग्रेसलाई ८ मन्त्रालय दिने सहमति भएको छ ।
कांग्रेसले ८ मन्त्रालय पाउँदा तीन मन्त्रालय आफ्नो समूहले पाउनुपर्ने माग सभापति देउवासँग राख्ने निर्णय कोइराला समूहले गरेको हो । कोइराला समूहबाट उपसभापति धनराज गुरुङ र डिगबहादुर लिम्बु मन्त्री बन्ने लगभग पक्का छ ।
कोइराला समूहभित्र सहमहामन्त्री बद्री पाण्डे, सहमहामन्त्री जीवन परियार, दीपक गिरी, प्रदीप पौडेल, तेजुलाल चौधरी, सञ्जय गौतम, सुरेन्द्र आचार्यलगायत सांसद मन्त्रीका आकांक्षी छन् ।
मन्त्रीको नाम टुंग्याउन धुम्बाराहीस्थित सभापति देउवाको निवासमा शीर्ष नेताहरूको बैठक बस्दैछ ।