काठमाडौँ,फागुन १८ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छन्।
बिहीबार सिंहदरबास्थित आफ्नो कार्यकक्षमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएकी हुन्।
उनले नेकपा एमालेले जुनै पनि विधेयक लगे पनि पास गर्ने तर अन्य पार्टीहरूले लगेको विधेयक पास नगर्ने गतिविधिहरूका कारण राष्ट्रपति एमालेको मात्रै भएको बताइन्।
उनले नागरिकता विधेयक राष्ट्रपतिले संसदबाट दुई पटक पास गरेर लैजाँदा समेत फर्काउनु गलत भएको दावी गरिन्।
उपाध्यक्ष अर्यालले भनिन्, ‘राष्ट्रपतिले दुई-दुई पटक नागरिकता विधेयक फर्काउनुभयो। राष्ट्रपति भइसकेपछि राष्ट्रको अभिभावको हैसियतले पार्टीको स्तरभन्दा माथि उठेर छलफल गर्नुपर्छ। एक चोटी फर्काउनु ठिक छ, तर दोस्रो पटक पठाएपछि पनि फर्काउन संवैधानिक पदमा रहेको मान्छेले त्यस्तो गर्न मिल्छ ररु उहाँ सधैँ एमालेको मात्रै राष्ट्रपति भइराख्नुभयो। त्यहाँ जे सल्लाह हुन्छ त्यही मात्रै गर्ने, एमालेले लगेको विधेयक ओके गर्ने। राष्ट्रपति भइसकेपछि सबै पार्टीलाई अभिभावकत्वको हिसावले हेर्नुपर्छ।’
उनले संवैधानिक पदमा रहेका व्यक्तिहरुले पदको मर्यादा जोगाउन नसके अहिलेसम्मका आन्दोलनबाट प्राप्त उपलब्धिहरू गुम्ने खतरा रहेको पनि बताइन्।
संवैधानिक पदमा रहेका व्यक्तिहरूले पार्टीभन्दा माथि उठेर राष्ट्रहीतलाई सर्वोच्चतामा रोखर काम गर्नुपने उनको भनाइ छ।