काठमाडौँ ,फागुन ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बिहीबार बालुवाटार पुगेका छन्।
आज बिहान अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
भेटवार्तामा दुवैबीच राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको सचिवालयले जनाएको छ।
निर्वाचन आयोगले राष्ट्रपतिको चुनावको मिति तोकिसकेको छ। आयोगका अनुसार राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ।
एमालेले राष्ट्रपतिमा दावी गर्दै आइरहेको छ भने प्रधानमन्त्री दाहाल एमालेलाई राष्ट्रपति दिने मनसायमा छैनन्। उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन्।
राष्ट्रपति चयनकै कारण सत्तागठबन्धन टुट्न सक्ने आंकलन हुँदै आएको छ।
प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते बिहिवार