काठमाडौं,भदौ ३१ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको छ। जसमा ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष र १८५ जना अन्य मतदाता छन ।
निर्वाचन आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।
आयोगले निर्वाचनका लागि १० हजार ८९१ मतदानस्थल तोतेको छ । साथै २२ हजार २२६ वटा मतदानकेन्द्र कायम गरिएको छ।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन घोषणा भएको मिति २०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी मिति २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमे पूरा हुने ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष तथा १८५ जना अन्य गरी कुल १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाताहरूको अन्तिम मतदाता नामावली यही भदौ ३१ गते स्वीकृत गरेको छ ।’
यसैगरी सबैभन्दा बढी मतदाता भएका जिल्लामा मोरङ, झापा र काठमाडौं रहेका छन् । सबैभन्दा कम मतदाता भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।