काठमाण्डौ,भदौ २० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको कसुरमा थुनामा रहेका सुरक्षा गार्ड शेरजंग गुरुङले मन्त्रीसँग गल्ती महसुस गरेका छन ।
पर्यटनमन्त्रीको सचिवालयले आज सोमवार विज्ञप्ति निकालेर गुरुङले मन्त्रीसँग आफूले गल्ती गरेको महसुस गरेको जनाएको छ ।
गुरुङले गल्ती महसुस गरेकाले पर्यटनमन्त्री श्रेष्ठले उनलाई रिहाइका लागि गृह मन्त्रालयसँग आग्रह गरेको पनि सचिवालयले जनाएको छ ।
पर्यटनमन्त्रीको आग्रहपछि गृहमन्त्री खाणले प्रक्रिया पुर्याएर गुरुङलाई रिहा गर्न काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई निर्देशन दिए ।
मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको भन्दै ठमेलको छाया सेन्टरमा रहेको भिसा सेन्टरका सुरक्षा गार्डलाई शुक्रवार प्रहरीले पक्राउ गरेको थियो ।
गुरुङले भने मन्त्रीलाई लाइनमा बस्न अनुरोध गर्दा उल्टै आफूमाथि दुर्व्यवहार भएको गुनासो थियो ।
विवादका क्रममा आफ्ना अङ्गरक्षकलाई धकेलेको र आफूलाई पनि लाइनमा हुँदा हुँदै दुर्व्यवहार गरेको मन्त्री श्रेष्ठले आरोप लगाए ।