२०८२ असार १ गते सोमवार

राजेन्द्र लिङ्देनद्वारा सांसद पद त्यागेको घोषणा

काठमाण्डौ,भदौ १९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद लिङ्देनले सांसद पद त्यागेको घोषणा गरेका छन ।

आइतवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद लिङ्देनले प्रतिनिधि सभाको यस कार्यकालमा सांसदको रूपमा संसदमा उपस्थित नहुने घोषणा गरेका हुन । उनले आफूले पाउने तलब, भत्ता तथा सुविधाको समेत रोक्का गर्न संसद् सचिवालयलाई आग्रह गरे ।

उनले संसद्को आयु मङ्सिर ४ गतेको चुनावपछि पनि कायम राख्ने गरी प्रक्रिया अघि बढेपछि त्यसप्रति असन्तुष्ट हुँदै सांसद पद त्याग गर्ने निर्णय लिएको जानकारी दिए ।

उनले भने, ‘व्यक्तिगतरूपमा म चाहिँ अब संसदमा आउँदिन । पार्टीको अध्यक्ष पनि छु । सानो पार्टीको अध्यक्ष हुनुको नाताले आउँदो चुनावमा संसदमा प्रभावकारी आफ्नो उपस्थिति बनाउनका लागि जनताको बीचमै जानका लागि बेसी समय खर्च गर्नुपर्छ । त्यस कारणले भत्ता पकाउनका लागि मात्रै संसद् आउन छोडेको पनि थिएँ । संसद्को आयु मङ्सिर ४ गतेपछि पनि कायम राख्ने भन्ने ढङ्गको निर्णय गर्ने प्रक्रिया सुरु भएको हुँदा त्यसले मलाई असाध्यै लज्जित र दुखित तुल्यायो । संसद् पद त्यागेको यहीँबाट घोषणा गर्न चाहन्छु ’

सांसद् लिङ्देनले आउँदो चुनावपछि एक्लो सांसदको रूपमा मात्र नभए बलियो पार्टीको रूपमा संसदमा उपस्थित हुने र संसदबाट गलत निर्णय गर्न नदिने सङ्कल्पका साथ नागरिकमाझ जाने बताए ।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *