सल्यान, १७ भदौ । आगामी निर्वाचनका लागि नेपाली काँग्रेस सल्यानका दुबै प्रदेश क्षेत्रीय कार्यसमितिले छ जनाको नाम सिफारिस गरेको छ ।
बुधबार बसेको प्रदेश सभा (ख) र बिहीबार बसेको प्रदेश सभा (क) को कार्यसमितिले दुबै क्षेत्रबाट प्रदेश सभा सदस्यका लागि ३/३ जनाको नाम सिफारिस गरेको हो ।
प्रदेश सभा (क) का लागि पार्टीका प्रदेश सह–महामन्त्री एकराज डाँगी, क्षेत्रीय सभापति सुरेश चन्द र नेता नेत्र ओलीको नाम सिफारिस भएको छ । त्यस्तै प्रदेश सभा (ख) मा जिल्ला उपसभापति चक्र देवकोटा, क्षेत्रीय सभापति सुरेश अधिकारी र नेता मानबहादुर डाँगीको नाम सिफारिस भएको छ ।
दुवै क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएका नामहरूको नाम आज जिल्ला समितिले हेरफेर गर्ने काँग्रेस सल्यानले जनाएको छ ।
क्षेत्रबाट छुटेर आएका अन्य आकांक्षीहरूको नाम जिल्ला समितिले निर्णयमा राखेर प्रदेशमा पठाउने जनाएको छ ।
प्रदेश सभा (ख) मा मुख्य दाबेदार रहेका सन्तोष केसीको नाम क्षेत्रीय कार्यसमितिबाट सिफारिस नभएपनि जिल्लाबाट सिफारिस हुने देखिएको छ ।
क्षेत्र नम्बर ( ख) मा केसी र अधिकारीको मुख्य लडाइँ देखिन्छ । क्षेत्रीय सभापतिसमेत रहेका अधिकारीले केसीको नाम नै क्षेत्रबाट सिफारिस गरेनन् ।
काँगेसमा दुई गुट रहेको यो क्षेत्रमा सुरेश अधिकारीले एउटा गुटको लिड गरेका छन् भने सन्तोष केसीसहितका नेताहरूको अर्को रहेको छ ।