काठमाण्डौ,भदौ १५ । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिन सुरु गरेको छ ।
बुधवार महाभियोग सिफारिस समितिले जबरालाई सिंहदरबारमा रहेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक कक्षमा बयान लिन सुरु गरेको हो ।
समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारलाई बाहिर पठाइएको थियो ।
यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस चलेको थियो । जसका कारण बयान लिन ढिलाइ भएको थियो ।
समितिका सदस्यसमेत रहेका नेकपा ९एमाले० का सांसद कृष्णभक्त पोखरेलले बयानलाई खुला राख्नुपर्ने धारणा राखेका थिए ।
यद्यपि नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मा, नेकपा ९माओवादी० की रेखा शर्मा र नेकपा ९एकीकृत समाजवादी० की कल्याणी खड्काले बन्द बयान लिनुपर्ने अडान लिए ।
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई ४३ वटा प्रश्न सोध्ने भएको छ । जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरिएको समितिले जनाएको छ ।
गएको बुधवार समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई बयानका लागि बोलाएको थियो । आज बिहान ११ बजे नै आफूमाथि लागेको आरोपबारे बयान दिन जबरा सिंहदरबार पुगेका थिए ।
गएको फागुन १ गते सत्तारूढ दलका सांसदले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।