२०८२ असार १ गते सोमवार

गठबन्धन आजको आवश्यकता हो ः नेता कोइराला

काठमाडौं,भदौ १२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आउँदो चुनावमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको जिकिर गरेका छन । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज आइतवार आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले पार्टी गठबन्धन गरेर चुनावमा जाने भएको र यो जरुरी रहेको बताएका हुन ।

नेता कोइरालाले आउँदो सङ्घीय चुनावमा नेपाली कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने पनि बताए । उनले कांग्रेसले २०७४ सालको चुनावमा सङ्घीय संसद् र प्रदेश सभामा विजयी भएका ठाउँ आफूले राख्नुपर्नेमा जोड दिँदै ७७ जिल्लामा सङ्घीय संसद् वा प्रदेश सभामा प्रतिनिधित्व हुनु आवश्यक रहेको धारणा राखे ।

नेता कोइरालाले पार्टी र सरकारमा सुशासन र पारदर्शिता हुनुपर्ने भन्दै नागरिकप्रति उत्तरदायी भएर उनीहरूको काम छिटो गर्न पनि सुझाव दिए । उनले नागरिकसँग जोडिने कार्य पार्टी र सरकारले गर्नुपर्ने भन्दै नेपाली कांग्रेसले आउँदो चुनावबाट देशमा दण्डहिनताको अन्त्य चाहेको धारणा राखे ।

कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले कार्यकर्ताले आउँदो चुनावमा नागरिकको घरघरमा पुगी उनीहरूको मन जितेर मत माग्नुपर्ने बताए । कांग्रेस केन्द्रीय सदस्यद्वय डा. डिला सङ्ग्रौला र रुक्मिणी कोइरालाले आउँदो चुनावमा पार्टीलाई बहुमत दिलाउने गरी लाग्न कार्यकर्तालाई आग्रह गरिन ।

कांग्रेस मोरङका उपसभापति एवम् विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विगतका तिक्ततालाई हटाइ पार्टीका कार्यकर्ता एकढिक्का भएर चुनावमा लाग्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *