२०८२ चैत्र २ गते सोमवार

माओवादीको पदाधिकारी चयन संसदीय चुनावपछि मात्रै

काठमाडौं, साउन १० । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी चयन मंसिरको संसदीय चुनावपछि मात्रै हुने भएको छ।

समाजवादी केन्द्र निर्माणको बहसका कारण पदाधिकारी चयन धकेलिने भएको हो।

पदाधिकारी नहुँदा पार्टीका कामकारबाहीमा कुनै अवरोध नभएको र अझै गृहकार्य आवश्यक रहेकाले पनि चुनावअघि हुने सम्भावना नरहेको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए।

‘पोलिटब्युरो बनेको छ। १५ जनाको स्थायी समितिले काम गरिरहेको छ। संसदमा महत्वपूर्ण विधेयक, सरकारका विभिन्न कामकारबाही र समाजवादी मोर्चा निर्माणको गृहकार्यमा व्यस्तताका कारण पदाधिकारी चयनमा थप गृहकार्य हुन सकेको छैन,’ पुनले भने,’निर्वाचनअघि पदाधिकारी चयन हुन्छजस्तो लाग्दैन।’

अध्यक्ष प्रचण्डले इच्छा नदेखाएका कारणले समेत पदाधिकारी चयनमा अलमल भइरहेको आरोप लाग्दै आएको छ। प्रचण्डको अनिच्छा भने पुनले अस्वीकार गरेका छन्।

‘अध्यक्षले नचाहेर रोकिएको भन्ने कुरामा म सहमत छैन। हामीले वरिष्ठ उपाध्यक्ष त बनायौं नि। पदाधिकारी नभएर पार्टीको काम पनि त रोकिएको छैन,’ पुनले भने।

महाधिवेशन भएको ६ महिना बित्दा पनि माओवादीले पदाधिकारी टुंग्याउन सकेको छैन। माओवादी केन्द्रको विधानले एक अध्यक्ष, एक महासचिव, एक वरिष्ठ उपाध्यक्ष र ६ उपाध्यक्षको व्यवस्था गरेको छ।

यस्तै विधान अनुसार दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने छन्। माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष तोकेको छ। महासचिवमा पुन वा जनार्दन शर्मामध्ये कसलाई रोज्ने भन्नेमा अध्यक्ष प्रचण्डलाई सकस छ।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *