२०८२ चैत्र १ गते आइतवार

संसदीय समितिले फरेन्सिक विज्ञसँग परामर्श गर्ने,आजै अपराह्न ४ बजे बैठक

काठमाडौं,साउन १० । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भनिएको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले प्रहरीबाट प्राप्त सीसीटीभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँग परामर्श गर्ने भएको छ ।

आजको बैठकमा समिति सदस्यहरुले प्रहरीबाट प्राप्त अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हेरेका थिए । त्यसपछि बैठक आजै अपराह्न चार बजे बस्ने गरी स्थगित गरिएको छ ।

बैठकपछि समितिका सचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबसँग सम्बन्धित विज्ञहरुसँग परामर्श गर्ने जानकारी दिए । फरेन्सिक रिपोर्टमा गत जेठ १४ गतेकै भिडियो छ कि छैन भन्ने विषयमा भने अहिले आफूले भन्न नमिल्ने अर्यालले बताए ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ । सो दिनको सीसीटीभी फुटेज डिलिट भएको जवाफ मन्त्रालयले दिएपछि संसदीय समितिले रिकभरका लागि प्रहरीसँग सहयोग लिएको थियो ।

बजेटमा करको दर हेरफेर गरिएको भन्ने विषय सार्वजनिक भएपछि सभामुख अग्नि सापकोटाले गत असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेका थिए । सोही दिन तत्कालीन अर्थमन्त्री पदबाट जनार्दन शर्माले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *