२०८३ असार २७ गते शनिवार

संसदीय छानबिन समिति बैठकमा प्रहरीबाट प्राप्त सीसीटीभी सम्बन्धी फरेन्सिक रिपोर्टबारे अध्ययन हुँदै

काठमाण्डौ,साउन १० । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानबिन समितिको बैठक सुरू भएको छ ।

सिंहदरबारमा भइरहेको बैठकमा प्रहरी विधि विज्ञान प्रयोगशालाबाट प्राप्त अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट खोलिएको छ ।

बैठकमा बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भन्ने विषयमा प्रहरीबाट प्राप्त अर्थ मन्त्रालयको सीसीटीभी सम्बन्धी फरेन्सिक रिपोर्टबारे अध्ययन हुँदैछ ।

यसअघि अर्थ मन्त्रालयले सीसीटीभी फुटेज १३ दिनसम्म मात्र कायम रहने र त्यसपछि डिलिट हुने भन्दै फुटेज डिलिट भइसकेको जनाएको थियो ।
त्यसपछि संसदीय समितिले फुटेज रिकभरका लागि प्रहरीको सहयोग मागेको थियो । साथै सिंहदरबारको गेटकै सीसीटीभी फुटेज पनि समितिले झिकाएको थियो ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ ।

यो आरोपबारे छानबिन गर्न सभामुख अग्नि सापकोटाले गएको असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेका थिए । समिति गठन भए लगत्तै अर्थमन्त्रीबाट शर्माले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *