२०८३ भाद्र १० गते बुधवार

गठबन्धन राजनीतिक मात्रै रहेन, वित्तीय गठबन्धन बन्यो – प्रदीप ज्ञवाली

काठमाडौँ,साउन २ । नेकपा एमालेले उपभोक्ता र सुशासनको दृष्टिकोणले सरकारको एक वर्ष अत्यासलाग्दो भएको निष्कर्ष निकालेको छ।

एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि महंगीका कारण जनताको दैनिकी अस्तव्यस्त भएको बताएको हो।

विभागले महंगीबारे आफ्नो धारणा सार्वजनिक गर्न आयोजित कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको एक वर्ष कुशासन र बर्बादीतिर उन्मुख भएको आरोप लगाए।

‘यो सरकारको एक वर्ष कुशासन र बर्बादीतिर उन्मुख भएको छ’, ज्ञवालीले भने। चर्को मूल्यवृद्धिका कारण आफूले घरको भान्छा नै कटौती गर्नुपरेको उनले बताए।

नेता ज्ञवालीले भने, ‘मैले नै घरमा हरेक पटक एकथरी मात्रै तरकारी पाक्नेछ भन्ने कुराको सम्झौता गर्नुपर्ने स्थिति छ। दुईथरी तरकारी पकाउने अवस्था मेरो छैन। मन्त्री पनि भएँ, सांसद पनि छु तर मेरो घरमा दुईथरी तरकारी बनाउने स्थिति छैन भने अरूको के होला रु बनावटी मूल्यवृद्धिका कारओ मैले घरमा सम्झौता गर्नुपरेको छ। मूल्यवृद्धिका कारण मेरो घरमा दुईथरी तरकारी पाक्न छाडेको छ।’

ज्ञवालीले अहिलको सत्ता गठबन्धन राजनीतिक मात्रै नभई वित्तीय गठबन्धन समेत भएको आरोप लगाए। ठूला भ्रष्टाचार र लेनदेन सत्तामा रहेका दलहरूले मिलीजुली गरिरहेको अरोप लगाउँदै उनले राज्य नै विचौलियाकरण हुँदै गएको उल्लेख गरे।

‘अहिलेको गठबन्धन राजनीतिक गठबन्धन मात्रै रहने, यो वित्तीय गठबन्धन पनि हो। गठबन्धनले भ्रष्टाचार, कालाबजारीया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको गरिरहेको छ’, उनले अगाडि भने, ‘अहिलेको गठबन्धन मुलुकका लागि डरलाग्दो भएको छ।’

उनले राज्यले एकथरी उद्योगलाई लाभैलाभ र अर्कोथरीलाई बजेट आएको डेढ महिनामै बन्द गरेर हिँड्नुपर्ने अवस्थामा पुर्‍याएको आरोपसमेत लगाए।

ज्ञवालीले भने, ‘अर्थतन्त्र केही मुठीभर व्यक्तिको नियन्त्रणमा जाने खतरनाक स्थिति सिर्जना भएको छ। गठबन्धन सरकारको एक वर्षलाई देशको लागि कुशासन र बरबादीको वर्षको रूपमा लिन सकिन्छ। राज्य एकदमै डरलाग्दो गरेर विचौलियाहरूको नियन्त्रणमा जान थालेको छ। राजनीतिक गठबन्धनप्रति हामीलाई कुनै आपत्ति छैन, माओवादीको कांग्रेसीकरण होस् वा कांग्रेसको माओवादीकरण हाम्रो आपत्तिको कुरा भएन, हामी आफ्नो ढंगले त्यसको सामना गर्नेछौँ।’

ज्ञवालीले कालो धनलाई सेतो बनाउने काम रोक्दा गर्भनरमाथि आक्रमण गरिएको दाबी गरे।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *