२०८३ भाद्र १२ गते शुक्रवार

कांग्रेसको निष्कर्ष ः सरकारको एक वर्ष उपलब्धिमुलक

काठमाडौँ,असार २८ । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष ‘सन्तोषजनक’ रहेको बताएको छ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठक चलिरहेका बेला प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको एक वर्ष सन्तोषजनक रहेको बताए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुरा भएको छ। यो अवधिमा सरकारले कैयौं महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए।

उनले सरकारले कोभिड नियन्त्रण गर्न सफल भएको, एमसीसी पास गराएको, भ्रष्टाचार नियन्त्रण तथा परराष्ट्र नीति सन्तुलित बनाएको बताए।

यस्तै, उनले नेपाली कांग्रेसले पार्टीभित्रको मर्यादाक्रम तय गरेको पनि जानकारी दिए। सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मर्यादाक्रमको ड्राफ्ट तयार पारेको प्रवक्ता महतले बताए।

महतले पार्टीमा देखिएको फरक मतलाई पार्टीभित्रै छलफल गरेर हल गरिने बताए। सोमबार कांग्रेस बैठक सुरु हुनुअघि शेखर कोइराला पक्षले गरेको भेला र पार्टी सभापति शेरबहादुर देउवाविरुद्धको प्रदर्शनबारे प्रवक्ता महतले पार्टीभित्रै बसेर छलफल गर्न आग्रह गरे।

सभापति देउवाले आफूनिकटलाई मात्रै भातृ संस्थाको नेतृत्वमा लगेको, कोइराला पक्षधरलाई ‘बाइपास’ गरेको, गठित कार्यसमितिलाई पूर्णता नदिएको, १० फागुनमा भंग गरेका भातृ संस्थामा नेतृत्व नछानेको भन्दै प्रदर्शन गरिएको थियो।

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टी मुख्यालय सानेपामा जारी छ। सोमबारदेखि सुरु भएको बैठक आज पनि बसेको हो।

प्रकाशित मिति : २०७९ असार २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *